पोखरामा सेती नदीको खोँचमा खसेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अर्को एकजना मृत फेला परेका छन् ।
शुक्रबार बिहान करिब ९ः२० बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ९ र १० जोड्ने चाइनापुलमुनि सेती नदीको खोँचमा नाम, थर र वतन नखुलेको अन्दाजी २० वर्षका एक पुरुष व्यक्ति खसेका थिए ।
युवक खोँचमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरीसँगै स्थानीयले करिब ११ः१५ बजे अर्धचेत अवस्थामा उद्धार गरेको थियो ।
खटिएको टोलीले उद्धार गरी उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
त्यसैगरी शुक्रबार बिहान पोखरा महानगरपालिका १९ रैकर सिम्लाथर बस्ने वर्ष ७० का टेकनाथ पौडेल घरबाट निस्किएकोमा घरभन्दा पूर्व दुईकिलोमिटर टाढा पोखरा १९ मर्दीखोला दोभानको पुलनजिकै घोप्टो अवस्थामा मृत फेला परेको रेग्मी जानकारी दिए ।
दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।