नेपालगन्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ।
विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन यो वर्ष कोरोना महामारीका कारण पहिलोपटक स्थगित गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस महामारीको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको सो मञ्चन नगर्ने निर्णय भएको हो । एक सय ५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको उक्त मञ्चनलाई यसपटक कोरोना महामारीका कारण सार्वजनिक रूपमा नमनाइए पनि प्रतीकात्मकस्वरूप सोही स्थानमा पूजापाठ गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका– ९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व भव्य रूपमा मनाउने गरिन्थ्यो ।
रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कनाैडियाको भनाइ छ ।
कार्यक्रम स्थगित गरिए पनि अहिलेको विषम परिस्थितिमा अन्य कार्यक्रमका स्वरूप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न विष्णुलाल कुमालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । यसको एउटा महत्वपूर्ण अंग श्रीराम चरित्र वाचन गरिने भएको छ ।
नौ दिनसम्म वाचन गरेपछि दशौँ दिन हवन गरेर प्रतीकात्मक कार्य सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको कार्यक्रमस्वरूप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न गठित कार्यदलका संयोजक कुमालले जानकारी दिए ।
रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा रहेको थियो ।
रामलीलाले धार्मिक र सांस्कृतिक सन्देशसँगै आपसी एकता तथा भ्रातृत्व भावमा मद्दत पुर्याउँदै आएको विश्वास गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले नयाँ पिँढीका युवालाई पनि धेरै पाठ सिकाउन सफल भएको बताए ।
यो वर्ष नभए पनि पुर्खाले जोगाउँदै आएको रामलीलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको सञ्चालक समिति सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरे ।
सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले स्मरण गरे ।