गाई काटेर खाएको आरोपमा स्याङ्जाका तीनजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका– ९ जौबारीस्थित नारायण भुसालको बाँझो जग्गामा गाई काटेर खाने स्थानीय ३८ वर्षीय नारायण भुसाल, गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय डोलुराम नेपाली र वालिङ नगरपालिका १३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जिउँदो गाई काटेर मासु भाग लगाई टाउको र खुट्टा खाडल खनी पुरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी, पशु चिकित्सक र पशु प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान गरेकाे थियाे । स्थलगत अनुसन्धान गर्न पुगेका उनीहरूले जौबारीस्थित खाडल खोतलेर हेर्दा गाईको टाउको, चारवटा खुट्टा, आन्द्राभुँडी कुहेर दुर्गन्धित अवस्थामा फेला परेको डिएसपी अधिकारीले जनाए ।
यस्तै आरोपित नारायण भुसालको घरमा सुकाइराखेको गाईको मासुसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न तीनैजनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई ‘पशुसम्बन्धी कसुर मुद्दा’मा स्याङ्जा जिल्ला अदालतबाट २५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।