अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो सय बिघा जग्गा

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुंगो लगाउँदै सय बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं. ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको सय बिघा जग्गा छुट्याइएको बताए । 

उनले भने, ‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं. ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । यस्तै वडा नं. १ को पाण्डवनगर, वडा नं. ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं. ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए ।

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले  डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताए । ‘प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ,’ उनले भने । काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए ।

अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताए । जमिनको टुंगो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताए । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए । रासस

सुझावित समाचार