कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका विद्यार्थीलाई राहत प्रदान गर्ने उद्देश्यले एपेक्स कलेजले ट्युसन फिसमा छुट दिने भएको छ । कलेजले २०२० को भर्नाका लागि आवेदन दिई एमबिए र एमबिए इभिनिङमा भर्ना हुने विद्यार्थीलाई ट्युसन फिसमा ३० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
अभिभावक तथा विद्यार्थीलाई यसले राहत पुग्ने विश्वास लिएको कलेजले जनाएको छ । त्यस्तै, कलेजले ‘२०औँ वार्षिकोत्सव विशेष छात्रवृत्ति’ घोषणा गरी शैक्षिक योग्यताका आधारमा एमबिएमा भर्ना हुने विद्यार्थीमध्ये ४० जना विद्यार्थीहरूलाई ट्युसन फिसमा बढीमा ४० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।
२०२० को स्प्रिङ सेमेस्टरमा पनि कलेजले एमबिए र एमबिए इभिनिङमा शीर्ष ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ । उक्त छात्रवृत्ति पोखरा विश्वविद्यालयले प्रत्येक सेमेस्टरमा ६ जना विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिभन्दा अलग्गै रहेको कलेजको भनाइ छ ।