एउटी बालिका बलात्कारको घटना गाउँमै मिलाएको डेढ महिनामै अर्की बालिकाको बलात्कारपछि हत्या

सोमबार, ११ असोज, २०७७
डिजिटल संस्करण
एउटी बालिका बलात्कारको घटना गाउँमै मिलाएको डेढ महिनामै अर्की बालिकाको बलात्कारपछि हत्या

बलात्कारको घटनामा गाउँमा गरिएको सहमतिपत्र

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ । त्यो घटना भने गाउँमै मिलाएको पाइएको छ । 

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका ७ असोजमा गाईवस्तुलाई घाँस हाल्न गोठमा गएकी थिइन् । उनी घर नफर्किएपछि खोजबिन गर्दा गाउँकै शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको देखिएको छ । 

जिल्ला अस्पतालले पोस्टमार्टम रिपोर्ट बुझाएपछि जिल्ला प्रहरी कार्यालयले यो घटनामा संवेदनशील भएर अनुसन्धान थालेको थियो । हत्याको आरोपमा पक्राउ परेका स्थानीय राजेन्द्र बोहरालाई सोधपुछ गर्दा यसअघि पनि बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राजेन्द्रले पहिलो घटना खुलाएपछि डिएसपी खड्कासहितको टोली शनिबार फेरि घटनास्थल पुगेको थियो । गाउँमा पुगेर अनुसन्धान गर्दा डेढ महिनाअघि पनि १३ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको हो । 

प्रहरीका अनुसार २९ साउनमा गाउँकै अर्की १३ वर्र्षीया बालिकालाई घट्ट पिस्न गएका वेला राजेन्द्रले बलात्कार गरेका थिए । साँझ ५ बजे बालिका घट्ट पिस्न गएकी थिइन् । त्यतिवेला राजेन्द्र घट्टमा एक्लै थिए । उनले त्यहीँ बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ । 

राजेन्द्रका परिवारले घटनाबारे प्रहरीकहाँ उजुरी नदिन आग्रह गरेपछि दुवै पक्षले गुपचुप रूपमा सहमति गरेका थिए । दुवै पक्षबीच ३१ साउनमा सहमति भएको छ । प्रहरीले पाएको सहमतिपत्रमा गर्भ रहन गएमा राजेन्द्रले बालिकाको जिम्मा लिने उल्लेख छ । सहमतिपछि राजेन्द्रले पाँच सय रुपैयाँ राखेर बालिकाको खुट्टा ढोगेर माफी मागेका थिए । 

त्यो सहमति भएको डेढ महिना नपुग्दै फेरि अर्को घटना भएको हो । प्रहरीले त्यो घटनामा पनि राजेन्द्रविरुद्ध उजुरी मागेको छ । आइतबार बालिकाको तर्फबाट आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको डिएसपी खड्काले बताए । 

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा यसअघि नै बालिकाका बाजेले किटानी जाहेरी दिएका छन् । अब दुवै घटनामा अनुसन्धान थालिएको डिएसपी खड्काले बताए । ‘अर्को उजुरी पनि आएको छ । अनुसन्धानका लागि सात दिनको म्याद थप गरेका छौँ,’ डिएसपी खड्काले भने, ‘अब दुवै घटनामा अनुसन्धान गरेर मुद्दा दर्ता गर्छौँ ।’

सुझावित समाचार