आयुर्वेद पढेकालाई नर्सिङ काउन्सिलको लाइसेन्स, न्याय माग्न पुगेका नर्सलाई कारबाही गर्ने धम्की

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

नेपाल नर्सिङ काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको व्यक्तिलाई लाइसेन्स वितरण गरेको खुलेको छ । नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई रजिस्ट्रार विन्दा घिमिरेले बिरामीको उपचार गर्न योग्य भनी दर्ता प्रमाणपत्र दिएको पाइएको छ ।  

डडेल्धुराकी माया पन्तलाई नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रारले दर्ता प्रमाणपत्र दिएको खुलेको हो । पन्त नर्सिङ विद्यामा आबद्ध व्यक्ति हाेइनन् । 

नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार विन्दा घिमिरेको गलत नियतले माया पन्त समस्यामा परेकी छिन् । डडेल्धुरा पारामेडिकल क्याम्पसमा सहायक आयुर्वेदिक स्वास्थ्यकर्मी (एएएचडब्ल्यू) को १५ महिने अध्ययन सकेकी उनलाई रजिस्ट्रार घिमिरेले अनमिको पदमा दर्ता गराएकी छन् । 

आयुर्वेद अध्ययन गर्नेहरूको लाइसेन्स नरदेवी आयुर्वेद काउन्सिलमा दर्ता हुन्छ । नर्सिङ संघमा पन्तको दर्ता नम्बर ४४७१९ रहेको छ । 

माया पन्तले आफू पीडित भएको बताएकी छिन् । ‘किन र कुन उद्देश्यले रजिस्ट्रारले मलाई नर्सिङको लाइसेन्स दिनुभयो आफैँ अनुत्तरित भएकी छु,’ उनले भनिन् । नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई लाइसेन्सको प्रमाणपत्र उपलब्ध गराउने रजिस्ट्रार घिमिरेले अख्तियारको दुरुपयोग गरेको काउन्सिलका अधिकारीहरू बताउँछन् । 

‘प्रदेश सरकारले आयुर्वेदका लागि लोकसेवा खुलाएको छ,’ पन्तले भनिन् ‘रजिस्ट्रारले गरेको गल्तीले मैले त्यहाँ सहभागी हुन नपाउने अवस्था आएको छ ।’ आफूले रजिस्ट्रार घिमिरेलाई फोन सम्पर्क गरेर बताउँदा उनले सच्याउनेभन्दा पनि बाहिर हल्ला नगर्न भनेको गुनासो गरिन् । 

‘आगामी १४ गते मेरो परीक्षा छ, तर लाइसेन्स नर्सिङको छ,’ एक हप्ताभित्र नसच्याए कानुनी बाटो खोज्ने पन्तले बताइन् । यस विषयमा रजिस्ट्रार घिमिरेसँग बुझ्न पटकपटक फोन गर्दा सम्पर्कमा आइनन् । उनले पीडितलाई काउन्सिलले दिएको प्रमाणपत्र कसैलाई नदेखाउन दिनहुँ फोन गर्दै आएकी छिन् । 

न्याय माग्न पुगेका नर्सलाई कारबाही गर्ने धम्की
महामारीमा २४ घन्टासम्म सेवामा खटिएका नर्सले अन्यायमा परेको भन्दै न्याय माग्न नेपाल नर्सिङ संघमा पुग्दा पदाधिकारीले शुक्रबार जिम्मेवारविहीन अभिव्यक्ति दिएका छन् । देशभरका नर्सहरूको रोजगारी खोसिएका वेला पीडित नर्सहरू न्यायका लागि दिनहुँ नर्सिङ संघ गएका छन् । 

नेपालमा दर्ता भएका ९५ हजार नर्सको छाता संगठन नेपाल नर्सिङ संघ हो । आफ्ना सदस्यहरूलाई परेको समस्या समाधान गर्न पटकपटक आवाज उठाउन आग्रह गर्दा पनि मौन बसेपछि पीडित नर्सहरूले संघमै गएर विरोध गरेका छन् । 

नर्सहरूले न्याय माग्दा संघले उल्टै नर्समाथि कारबाहीको धम्की दिएको छ । विभिन्न अस्पतालले कम्तीमा पनि दुई सयको संख्यामा नर्सलाई रोजगारीबाट निकालेका छन् । नर्सहरूकै आन्दोलनले १५० बढी नर्सले पुनर्नियुक्ति पाएका छन् । 

संघकी अध्यक्ष मनकुमारी राईले पदाधिकारीमाथि गाली–गलौज गरेको भन्दै न्याय माग्ने नर्सलाई कानुनी कारबाही गर्नेसम्मको धम्की दिएको पाइएको छ । उनले भनेकी छिन्, ‘चुनावमा हारेका नर्सहरूले अहिले विरोध गरिरहेका छन् । पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्, यसले संघको ध्यानाकर्षण भएको छ ।’

आन्दोलनको संयोजन गरेकी नर्स ज्योति रानाभाटसहितका नर्सलाई लक्षित गरी संघले अब पनि पदाधिकारीमाथि आरोप आए कानुनी उपचार खोज्ने  राईले बताइन् । तर, आन्दोलनको संयोजन गरेकी नर्स रानाभाटले भने संघले दिएको एक हप्ताको समय अवधि कुरेर बसेको बताइन् । 

संघेल राष्ट्रिय ट्रमा सेन्टरमा असोज ६ गते जिता बरालले लफडा गरेको विषयमा आफ्नो नाम जोडेकोमा आपत्ति जनाएकी छन् । बरालले अचानक मानसिक सन्तुलन गुमाउन पुग्दा ट्रमा सेन्टरका चिकित्सक नर्सहरूमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । डा. केसीको समर्थन गर्न बराट सेन्टर पुगेकी थिइन् । 

उक्त घटनामा संघले रानाभाटलाई समेत दोष लगाएको छ । तर, रानाभाटले भने आफूले बराललाई पुऱ्याउन मात्रै गएको र भिडियो नखिच्न आग्रह गरेको बताइन् । ‘ट्रमा सेन्टर तोडफोड र झगडामा सुनियोजित रूपमा मेरो नाम जोडिएको छ,’ उनले भनिन्, ‘यसको कानुनी उपचार खोज्ने छु ।’ न्यायको लडाइँमा लागेका नर्सहरूलाई सत्तापक्षीय नर्सले कमजोर बनाउन विभिन्न कोणबाट आक्षेप लगाउने र आन्दोलन तुहाउने काम संघबाट हुन थालेको नर्सिङ क्षेत्रका जानकारहरू बताउँछन् । 

सुझावित समाचार