सार्वजनिक सवारीसाधन सञ्चालनको पहिलो दिन अर्थात बिहीबार छोटो र मध्यम दूरीका रुटमा चल्ने सवारीसाधन मात्र सञ्चालन भए ।
देशभर नै लामो दूरीका सवारीसाधन भने फाट्टफुट्ट मात्रै सञ्चालनमा आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
‘सामान्य अवस्थामा चल्ने सावरीसाधनमध्ये २० प्रतिशत मात्र चलेको अनुमान गरेका छाैँ’ उनले भने, ‘बिहीबार विश्वकर्मा पूजा भएकाले अधिकांशले पूजा गरेर सवारी नचलाएको पाएका छाैँ ।’
केही रिजर्भ गरेर चलाएकाबाहेक १५ वटा सवारीसाधन सुर्खेत, कञ्चनपुरलगायतका लामो दूरीका लागि प्रस्थान गरेको व्यवसायीहरूको भनाइ छ ।
‘लामो दूरीका सवारीसाधन नचल्नुमा भने विभिन्न पाटपुर्जा बनाउने र अन्य तयार गर्नुपरेकाले हो,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ।
त्यस्तै, कतिपय स्थानमा स्थानीय तहको निषेधाज्ञाका कारण पनि सवारीसाधन सञ्चालनमा अवरोध भएको व्यवसायीहरूको भनाइ छ । कतिपय श्रमिकहरू घर गएका, सहरभन्दा बाहिर धेरै रहेका कारण पनि पहिलो दिन सबै सवारीसाधन सञ्चालन नभएको हो ।
लामो दूरीको टिकट वानडोर काउन्टरबाट
लामो दूरी (२५० किमिभन्दा अधिक)का सवारीसाधन सबैभन्दा धेरै छुट्ने नयाँ बसपार्कस्थित टिकट काउन्टरलाई व्यवस्थित बनाएर टिकट वितरण थालिएको छ ।
पहिले कम्पनीपिच्छेको टिकट काउन्टर रहने गरेकोमा अहिले ‘वानडोर’ प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।
सामाजिक दूरी र स्वास्थ्य मापदण्डअनुसार टिकट वितरण थालिएको नयाँ बसपार्क टिकट व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले जानकारी दिए । ‘पहिलो दिन भएर होला, यात्रु खासै आएका छैनन्,’ उनले भने ।
त्यस्तै, बसपार्कसम्म टिकट काट्न आउनुनपर्ने गरी अनलाइन टिकट काट्ने तयारी भइरहेको समेत जानकारी दिए । सम्भवतः दसँैसम्ममा अनलाइनबाट टिकट काट्ने व्यवस्था हुने महाप्रबन्धक कुँवरको भनाइ छ ।
इ–टिकेटिङमा लैजान यातायातमन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यातायात क्षेत्रलाई प्रविधिमा अद्यावधिक गर्न र संक्रमणको यो समयमा सुस्त व्यवस्थापन गर्न अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्न यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएका छन् ।
त्यस्तै, कुनै कम्पनीले अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्छ भने त्यसलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बैठकमा सहभागी एक कर्मचारीले जानकरी दिए ।
विशेष गरी निःशुल्क सफ्टवेयर उपलब्ध गराउनेमा सहयोग गर्ने मन्त्रीको प्रतिबद्धता छ । टिकट काट्दा भाडासमेत ‘क्यासलेस’तर्फ जानुपर्नेमा मन्त्रीको जोड छ ।
त्यस्तो व्यवस्था भएको खण्डमा एकातिर संक्रमण न्यूनीकरण गर्न सहयोग पु¥याउनेछ भने अर्कोतिर श्रमिकहरू सम्मानित हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईको भनाइ छ । ‘यसले बार्गेनिङ गर्ने कामको अन्त्य हुनेछ,’ उनले भने ।
यसअघि २९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सवारी सुचारु गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्दा तोकिएको मापदण्डलाई कडाइका साथ पालना गर्न भनेको छ ।
यातायात व्यवसायी र मजदुर संगठनहरूले चालक, सहचालक, परिचालक र बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजर (चालकबाहेक)लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै, सवारीसाधनमा चढ्दा–ओर्लंदा र लामो तथा मध्यम दूरीको हकमा खाना–खाजा खाने समयमा भौतिक दूरी कायम गर्ने भएका छन् ।
सवारीसाधनमा चढ्नुअघि स्यानिटाइजरको व्यवस्था गरिएको छ ।