प्रदेश १ को प्रदेश सभा हलका लागि दुई करोड ५२ लाख रुपैयाँ खर्चेर अस्थायी संरचना निर्माण थालिएको छ ।
हाल संसद् सचिवालय भवन रहेको परिसरमा प्रिफ्यापको भवन निर्माणका लागि यति रकम खर्चिन लागिएको हो ।
प्रदेश सभा स्थापना भएको अढाइ वर्षपछि बलियो स्थायी संरचना बनाउनुको सट्टा ठूलो रकम खर्चेर अस्थायी संरचना बनाउन शिलान्यास गरिएको हो ।
हाल प्रदेश सभा भवन रहेको विराटनगर देवकोटाचौकमा रहेको जिल्ला समन्वय समितले प्रदान गरेको भवन साँधुरो भएको भन्दै प्रदेश सभाले फराकिलो अस्थायी सभाहल निर्माण सुरु गरेको हो ।
१७ माघ २०७४ मा स्थापना भएको प्रदेश १ सभाको सचिवालय र संसद् बैठक जिससले उपलब्ध गराएको विराटनगर देवकोटौचौकस्थित भवनमा सञ्चालन हुँदै आएको छ ।
सुनसरी धरानको स्वामीनारायण निर्माण सेवा प्रालीले यही फागुन मसान्तसम्ममा भवन निर्माण सम्पन्न गर्ने गरी ३० भदौमा सम्झौता गरेको छ ।
नयाँ तर अस्थायी प्रिक्याप भवनको बिहीबार विश्वकर्मा पूजाको अवसर पारेर प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, मुख्यप्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रतिपक्ष दलका नेता जयराम यादव र जेष्ठ प्रदेश सांसद ओमप्रकाश सराबगीलगायतले शिलान्यस गरे ।
निर्माण ठेक्का लिएको कम्पनी स्वामीनारायणका निर्देशक सञ्जीव बस्नेतले तोकिएकै समयमा सम्झौताअनुसारको गुणस्तरिय भवन बनाएर प्रदेश सभालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संसद सभाहल अस्थायी भवन प्रिक्यापको भए पनि फराकिलो, वतानुकूलित प्रविधिमैत्री र साउन्डप्रुफ अनि सुरक्षित हुने बताए ।
सभा हलमा सामाजिक दूरी कायम गरेर बस्न मिल्ने व्यवस्था पनि हुनेछ । हलमा फराकिलो सभाहल र दर्शकदीर्घा पनि हुनेछन् ।
प्रदेश १ सभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुतिकतर्फका सांसद छन् ।