विपन्न राधिकालाई घर बनाइदिने कर्मचारीको घोषणा

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

निजामती कर्मचारी दिवसको अवसरमा मालिका गाउँपालिकाका कर्मचारीले स्थानीय एक विपन्न परिवारका लागि नयाँ घर निर्माण गर्ने गरी अभियान चलाएका छन् । मालिका– ८ की अपांगता भएकी राधिका सुनारको घर निर्माणमा उनीहरूले अभियान सञ्चालन गरेका हुन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीका अनुसार जीर्ण घरमा बस्दै आएकी राधिकालाई नयाँ घर बनाइदिने अभियानस्वरूप कर्मचारीको तर्फबाट एकमुष्ट ७५ हजार प्रदान गरिएको छ । घर निर्माणका लागि डम्बरबहादुर पौडेलको अध्यक्षतामा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ । गाउँपालिकाका प्रमुख रितबहादुर थापामार्फत समितिका अध्यक्ष पौडेललाई नगद प्रदान गरेको उनले बताए । ‘कर्मचारी सधैँ नागरिककै सेवा छन्, सहयोग गर्ने दिवस अर्को अवसर बन्यो,’ उनले भने, ‘कर्मचारी र नागरिकबीचको सम्बन्ध मजबुत भएको उदाहरण मात्रै प्रस्तुत गरेका हौँ ।’

५० वर्षीया राधिकासँग सम्पत्तिको नाममा जीर्ण कच्ची घर र पाँच पाथी अन्न फल्ने बारी छ । दिनभर काम नगरे साँझ उनको घरको चुलो बल्दैन । शारीरिक रूपमा कमजोर उनी सधैँ काम गर्न पनि सक्दिनन् । रोजगारीका लागि भारत गएका उनका श्रीमान् भीमबहादुर सुनार कामकै सिलसिलामा घाइते अवस्थामा भारतमै छन् । राधिकाकी ११ वर्षीया छोरी संगीता पनि अपांग छिन् । उनकी छोरी आँखा देख्दिनन् । डेढ वर्षीय छोरा र अपांग छोरी हुर्काउने सबै जिम्मेवारी राधिकाकै काँधमा छ । 

राधिकाको घरमा सोमबार गाउँपालिकाका प्रमुखसहित जनप्रतिनिधि र कर्मचारी पुगेर घर निर्माण गरिदिने घोषणा गरेका हुन् । घर बनाउने घोषणासहित पैसासमेत दिएपछि राधिकामा खुसीको सीमा नै रहेन । ‘मलाई थाहै थिएन, सरहरू भगवान् आएजस्तै आउनुभयो,’ उनले भनिन्, ‘खुसी नहुने कुरै भएन, बुढेसकालमा सुरक्षित ओत पाउने भएँ ।’ गाउँपालिका प्रमुख थापाले महिलाको पारिवारिक अवस्था र कर्मचारीको सहयोगी भावले अत्यन्तै प्रभावित भएको बताए । उनले कर्मचारीसँगै रहेर गाउँपालिकाले घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सुझावित समाचार