वामदेवलाई पराजित गरेका सञ्जय गौतम भन्छन्– सांसद बन्न लागेकोमा उहाँलाई शुभकामना

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

बर्दियामा वामदेव गौतमलाई चुनाव हराउने सञ्जय गौतमले राष्ट्रिय सभा सदस्य बन्न लागेकोमा गौतमलाई शुभकामना दिएका छन् । 

सांसद सञ्जयले राजनीतिक दलप्रति जनतामा वितृष्णा भएको वेला यस्ता गतिविधि हुनु चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् ।

गत निर्वाचनमा बर्दिया– १ बाट तत्कालीन वामगठबन्धनका उम्मेदवार वामदेव गौतमलाई कांग्रेसका उम्मेदवार सञ्जय गाैतमले सात सय ५८ मतान्तरले पराजित गरेका थिए ।

सञ्जय गौतमको भनाई यस्ताे छ–
राजनीति र लोकतन्त्रमा जनमतलाई सम्मान गर्न सक्नु राम्रो हुन्छ । जनमतको अवज्ञा गरेको राम्रो हुँदैन । मसँग पराजित हुनुहुने वामदेवजीलाई सांसद बनाउन खोज्नु नेकपाको आन्तरिक कुरा हो । यसमा खासै प्रतिक्रिया छैन । 

तर, मुलुकको राजनीति अस्थिर बन्दै गएको वेलामा सत्तारुढ दलले जनतालाई विश्वास बढाउने काम गर्नुपर्ने हो । राजनीतिक दलप्रति जनतामा वितृष्णा भएको वेला यस्ता गतिविधि हुनु चिन्ताजनक छ । 

हाम्रो सम्पूर्ण क्रियाकलाप लोकतन्त्रप्रति आस्था जगाउने खालको हुनुपर्छ । हामी दलहरूको मुख्य काम नै जनताप्रति आशा, भरोसा र विश्वास बढाउने हो । यस्ता गतिविधि गरी निराशा बढाउने होइन । दलहरूले भरोसा दिन नसक्दा कार्यकर्ताहरू थप सचेत बन्नुपर्छ । 

वामदेवजीको विषयमा निर्णय गर्ने पार्टीको आन्तरिक कुरा होला । व्यक्तिगत रूपमा भने मेरो कुनै टिप्पणी छैन । तर, नेकपा र कांग्रेसजस्ता पार्टीले यस्ता विषयमा कदम चाल्नुपूर्व गम्भीर भने हुनुपर्छ । लोकतान्त्रिक प्रणालीमा यस्ता गतिविधिले कस्तो असर पार्छ भन्नेमा हामी गम्भीर नबन्ने हो भने जनतामा झनै वितृष्णा बढ्छ । 

निर्वाचनमा जितहार हुन्छ । उहाँले मसँग हार्नुभएको थियो । उहाँ मेरो पनि अभिभावक हो । सांसद बन्न लाग्नुभएका वामदेवजीलाई मेरो पनि शुभकामना छ । नेताहरूले राम्रै हुन्छ भनेर उहाँलाई सांसद बनाउन लाग्नुभएको होला । तर, नेताहरूले गम्भीर भएर कदम चाल्नुपथ्र्यो । 

सुझावित समाचार