यो वर्ष चिनियाँ जनताले जापानी आक्रमण र फासिवादी विश्वयुद्धविरुद्धको युद्धमा विजय हासिल गरेको ७५औँ वर्षगाँठ हो । जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध पनि फासिवादी विश्वयुद्धविरुद्धकै एउटा महत्वपूर्ण हिस्सा थियो । फासिवादी विश्वयुद्धविरुद्धको पूर्वी मोर्चाको लडाइँमा चिनियाँ जनताले विजयका लागि ऐतिहासिक योगदान पुर्याएका थिए ।
द्वितीय विश्वयुद्धले मानव जातिलाई एउटा अभूतपूर्व महाविनाशमा हेलिदिएको थियो, जसमा चीन, नेपाललगायतका ८० भन्दा धेरै मुलुक र करिब दुई अर्ब मानिस संलग्न रहन पुगेका थिए । एसिया, युरोप, अफ्रिका, ओसिनिया, सबैतिर महाविनाशलीला मच्चाएको द्वितीय विश्वयुद्धमा मर्ने र घाइते हुने सैनिक तथा गैरसैनिक सर्वसाधारणको संख्या १० करोड नाघेको थियो । द्वितीय विश्वयुद्धको विजयका लागि चीनले ठूलो बलिदान दिएको छ । यो युद्धका क्रममा मृत्यु भएका तथा घाइते सैनिक एवं सर्वसाधारणको संख्या तीन करोड ५० लाखभन्दा बढी थियो भने प्रत्यक्ष एवं अप्रत्यक्ष आर्थिक क्षति ६ खर्ब डलर पुगेको थियो । फासिवादी विश्वयुद्धविरुद्धको त्यस विजयले मानव जातिको ७५ वर्षका लागि शान्ति र विकास प्रदान गरेको छ । राष्ट्रपति सी जिनपिङले भन्नुभएको छ, ‘युद्ध एउटा त्यस्तो ऐना हो, जसले मानव जातिलाई शान्ति कति बहुमूल्य छ भन्ने राम्ररी देखाउन सक्दछ ।’ हावा र घामजस्तै शान्तिको अस्तित्वलाई पनि बिरलै ध्यान दिइन्छ, तर त्यसबाट नागरिक लाभान्वित भइरहेका हुन्छन् । शान्तिविना हामी कोही पनि बाँच्न सक्दैनौँ । त्यसकारण दोस्रो विश्वयुद्धको जितको उपलब्धि र शान्तिको रक्षार्थ हरेक मुलुकले काँधमा काँध मिलाएर काम गर्नुपर्छ र हरेकले आफ्नो भागको जिम्मेवारी पूरा गर्नुपर्छ, जुन अत्यन्त मूल्यवान् छन् ।
हामी चिनियाँ ऐतिहासिक कालदेखि नै शान्तिप्रिय जाति हौँ । चीनको पाँच हजार वर्ष पुरानो इतिहासमा आक्रमण र विस्तारको जिन (वंशाणु गुण) हामीमा कहिल्यै पलाएको छैन । चिनियाँ जनताको हृदयमा युद्धमा भोगेका कष्टसाध्य दुःख र अतिशय पीडाको अविस्मरणीय छाप गढेको छ, त्यसैले शान्तिपूर्ण जीवनप्रति उनीहरूको ठूलो सम्मान र कदर छ । चीन छिट्टै सम्पूर्ण रूपले मध्यमस्तरको विकसित समाजमा परिणत हुँदै छ र चीनलाई आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यतर्फको यात्रा प्रारम्भ गर्दै छ । यी दुवै लक्ष्य हासिल गर्न पनि चीनलाई शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण आवश्यक छ ।
हामीले चीनको शान्तिपूर्ण विकासप्रतिको प्रतिबद्धतालाई मुलुकको संविधानमा नै समावेश गरेका छौँ । विश्वमा यस्तो सौम्य प्रतिज्ञा गर्ने चीन पहिलो मुलुक हो । चीन जतिसुकै बलियो किन नहोस्, ऊ सधैँ शान्तिपूर्ण विकासको मार्गमा प्रतिबद्ध रहनेछ ।
शक्तिशाली हुनु भनेको प्रभुत्वशाली हुनु हो भन्ने पुरातन सोच चीनको हकमा लागू हुँदैन । हामीले चीनको शान्तिपूर्ण विकासप्रतिको प्रतिबद्धतालाई मुलुकको संविधानमा नै समावेश गरेका छौँ, विश्वमा यस्तो सौम्य प्रतिज्ञा गर्ने चीन पहिलो मुलुक हो । चीन जतिसुकै बलियो किन नहोस्, ऊ सधैँ शान्तिपूर्ण विकासको मार्गमा प्रतिबद्ध रहनेछ । र, अन्य मुलुकसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा मैत्रीपूर्ण सम्बन्ध बनाइराख्न सदा प्रयत्नशील रहनेछ । चीनले कहिल्यै पनि प्रभुत्व र विस्तार खोज्नेछैन, सदैव विश्वशान्तिको दृढ पक्षधर शक्तिको रूपमा खडा रहनेछ ।
यो वर्ष संयुक्त राष्ट्रसंघ स्थापना भएको पनि ७५औँ वर्षगाँठ हो । फासिवादी विश्वयुद्धविरुद्ध विजयमार्फत हासिल एउटा महत्वपूर्ण उपलब्धिको रूपमा अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्रसंघीय बडापत्रको उद्देश्य र सिद्धान्तको जगमा संयुक्त राष्ट्रसंघका साथै अन्तर्राष्ट्रिय व्यवस्था र प्रणाली स्थापना गरे । यसरी अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात भएको थियो । बितेका ७५ वर्ष शान्ति र विकासप्रतिको प्रतिबद्धतामा कायम रहँदै आपसी सम्मान, निष्पक्षता, न्याय र सबैको जित हुने सहकार्यसहितको एउटा नयाँखाले अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न हामीले मिहिनेत गरेका छौँ ।
भूमण्डलीकरणको लहरले विश्वका हरेक भागलाई अभिभूत बनाएको छ । यसबीच, मानव जातिले आर्थिक, सांस्कृतिक, सामाजिकलगायतका क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गरेको छ । तर, दुर्भाग्यवश, केही मुलुक र शक्तिहरू अहिले विश्वको मूलधारविपरीतको दिशामा जाँदै छन् । उनीहरू आफ्नो हितलाई पहिलो स्थानमा राख्ने र अरूलाई अस्वीकार गर्ने शीतयुद्धकालीन मानसिकताबाट ग्रसित रहेर पहिचानको राजनीति र ध्रुवीकरणको पुरानो चालबाजी पुनस्र्थापित गर्न प्रयासरत छन् । द्वितीय विश्वयुद्धको पीडादायी नमिठो अनुभवले हामीलाई प्रभुत्ववाद र जेरो–सम गेम (एउटाले जित्न अर्काेले हानुपर्ने)ले मानव जातिको शान्ति र विकासको सही मार्ग हुनै सक्दैन भन्ने पाठ सिकाएको छ । यसर्थ, विश्वका सबैतिरका नागरिकका आकांक्षा र युगसुहाँउदो विकासको माग पूरा गर्ने एक मात्रै विकल्प भनेको अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाएर पारस्परिक लाभ हासिल गर्नु नै हो ।
अहिले कोभिड–१९ को महाव्याधि विश्वव्यापी रूपमा फैलिइरहेको छ । जलवायु परिवर्तन, गरिबी, भोकमरी तथा अन्य विश्वव्यापी समस्याले हामीलाई पिरोलिरहेको छ । परम्परागत एवं गैरपरम्परागत सुरक्षा चुनौतीहरू जेलिँदै गएका छन् । यो भूमण्डलीकरणको युगमा, हरेक मुलुकको भाग्य आपसमा गहिरोसँग जोडिएको छ । यी चुनौतीसँग कुनै पनि मुलुकले एक्लै जुझ्न सक्दैन अथवा आफूलाई एक्लैले सुरक्षित राख्न सक्दैन । त्यसैले मानव जातिको साझा भविष्यसहितको एउटा समुदाय बनाउनु नै एक मात्र सही मार्ग हुनेछ । यसर्थ, हामीले फासिवादी विश्वयुद्धविरुद्धको भावनालाई जगेर्ना एवं प्रवद्र्धन गर्नुपर्छ ।
आफ्ना विचारधारागत भिन्नतालाई थाती राखेर मानव जातिका यी साझा शत्रुलाई एकताबद्ध भएर परास्त गर्न र जनजीविकाको अधिकार एवं विकासलगायतका आधारभूत अधिकारको रक्षार्थ हाम्रा सबैभन्दा शक्तिशाली हतियारका रूपमा ऐक्यबद्धता र सहकार्यलाई प्रयोग गर्नुपर्छ । इतिहासलाई त बदल्न सकिँदैन, तर भविष्यको निर्माण भने हामीले चाहेजसरी गर्न सकिन्छ । नयाँ इतिहासको प्रारम्भ बिन्दुमा उभिँदै गर्दाको यो क्षणलाई जापानी आक्रमण र फासिवादी विश्वयुद्धविरुद्ध चिनियाँ जनताले लडेको महान् प्रतिरोध युद्धको गौरवपूर्ण विजयको स्मरण गर्ने अवसरका रूपमा लिऊँ, सँगै मिलेर काम गरौँ र मानव जातिलाई समृद्धशाली एवं शान्तिपूर्ण भविष्य प्रदान गर्न मिलेर अगाडि बढौँ ।
(यान्छी नेपालका लागि चिनियाँ राजदूत हुन्)