गुल्मी/ जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर)पर्वतकुमार केसीको सुतेकै अवस्थामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयस्थित अधिकृत क्वार्टरमा मंगलबार बिहान उनी अचेत भेटिएका उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
गुल्मीका एसपी भीमकिरण बोगटीका अनुसार बिहान नौ बजेसम्म पनि नउठेपछि उनको कोठामा हेर्दा अचेत देखिएका थिए। उनी ढोका बन्द गरेर सुतेका थिए। झ्यालबाट उनलाई अस्पताल लगिएकामा मृत घोषणा गरिएको थियो। मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने एसपी बोगटी बताउँछन्। ‘बेलुका करिब नौ बजे डिउटी सकेर सुत्नुभएको थियो,’ उनी भन्छन्, ‘बिहान अबेरसम्म नउठेपछि हेर्दा अचेत अवस्थामा भेटिएको थियो, अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।’
उनी पछिल्लो एक वर्षदेखि जिप्रका गुल्मीका कार्यरत थिए। सुर्खेत स्थायी घर भएका उनको परिवार नेपालगन्ज बस्दै आएको छ।