जुम्ला । जुम्लाको हिमा गाउँपालिका– २, ओदीगाउँका १४ वर्षीय बालक बहादुर रोकायाले सकेट बम विस्फोट हुँदा दायाँ खुट्टा गुमाएका छन्। विस्फोटमा गम्भीर घाइते भएका उनको खुट्टा काटेर फाल्नुपरेको छ।
द्वन्द्वकालमा छाडिएका विस्फोटक पदार्थको उचित व्यवस्थापन नहुँदा गत कात्तिक २ गते भएको घटनामा बालकले खुट्टा गुमाउनुपरेको हो।
छिमेकीको घरमा धारा निर्माणका लागि ल्याइएको करिब एक मिटर लामो जिआई पाइप काट्ने क्रममा विस्फोट भएको थियो। पाइपजस्तो देखिने वस्तु सकेट बम भएको कुरा विस्फोटपछि मात्र थाहा पाएको परिवारले जनाएको छ।
विस्फोटका कारण बालकको दायाँ खुट्टाको गोलीगाँठोदेखि माथिको भागमा गम्भीर चोट लागेको थियो। घटनालगत्तै उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला लगिएको थियो। उपचारबाट खुट्टा निको हुने सम्भावना नदेखिएपछि चिकित्सकले शल्यक्रिया गरी खुट्टा काटेर फाल्नुपरेको उनका बुवा दलबहादुर रोकायाले बताए।
दुई छोरा र एक छोरीमध्येका बालक कक्षा ६ मा अध्ययनरत छन्। खुट्टा गुमाएपछि उनको भविष्य र पढाइसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ। घटनापछि उनी निरन्तर अस्पतालमै उपचाररत थिए।
लामो समयसम्म उपचार गर्नुपर्ने भए पनि परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भएको स्थानीय धीरेन्द्र रोकायाले बताए। उनले बालकको उपचारका लागि सबैसँग सहयोगको अपिल गरेका छन्।
हिमा गाउँपालिका– २ का वडाध्यक्ष हरिबहादुर रोकायाले घटनाले द्वन्द्वकालीन विस्फोटक पदार्थको जोखिम अझै कायम रहेको पुष्टि गरेको बताए। ‘त्यतिवेला विस्फोटक पदार्थको उचित व्यवस्थापन नहुँदा अहिले एउटा बालकले खुट्टा गुमाउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘राज्यले यस्ता विस्फोटक पदार्थको खोजी गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने देखिएको छ।’
वडाध्यक्ष रोकायाका अनुसार जिल्लामा यसअघि पनि यस्ता प्रकृतिका घटना हुने गरेका थिए। विस्फोटक पदार्थको जोखिमबाट बच्न नागरिकसमेत सचेत हुनुपर्ने उनको भनाइ छ।
यसैबिच, बालकको उपचारका लागि हिमा गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
त्यस्तै, चन्दननाथ नगरपालिका– ७, मिचागाउँ स्थायी घर भई हाल अस्ट्रेलियामा बस्दै आएका शैलेन्द्र खत्रीले १० हजार ५५६ रुपैयाँ सहयोग गरेका छन्। शैलेन्द्र केही वर्षअघि यही ओदीगाउँको विद्यालयमा अध्यापन गराउँथे। हाल उनी अस्ट्रेलियामा बस्दै आएका छन्।
सकेट बम विस्फोटबाट अपांगता भएका बालक एक महिनापछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्।
द्वन्द्वकालमा प्रयोग गरिएका विस्फोटक पदार्थको खोजी तथा उचित व्यवस्थापन हुन नसक्दा सर्वसाधारणको ज्यान र अंग जोखिममा पर्दै आएको छ। यस घटनाले द्वन्द्वका अवशेष व्यवस्थापन गर्ने राज्यको जिम्मेवारीमाथि पुनः प्रश्न उठाएको छ।