कञ्चनपुर/ कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयपरिसरमै दुई पक्षबिच कुटाकुट भएको छ। भीमदत्त नगरपालिका–४ मा रहेको वडा प्रहरी कार्यालयपरिसरभित्रै आइतबार दिउँसो दुई पक्षबिच हात हालाहाल भएको हो।
वडा प्रहरी कार्यालयपरिसरमा रहेको गोलघरमा दुई पक्षबिच कुटाकुट भएको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो। गत २६ कात्तिकमा भीमदत्त नगरपालिका–५, वनगाउँमा दुई पक्षबिच विवाद भएको थियो। सोही घटनालाई लिएर रोशन लुहारले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।
उक्त निवेदनका विषयमा छलफल गर्न प्रहरीले दुवै पक्षलाई वडा प्रहरी कार्यालयमा बोलाएको थियो। छलफलका क्रममा पुनः विवाद चर्किएपछि दुवै पक्षबिच कुटाकुट भएको बताइएको छ। केहीबेर प्रहरी कार्यालय परिसर नै तनावग्रस्त बनेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भने कुटपिट वडा प्रहरी कार्यालयभित्र नभई बाहिर भएको दाबी गरेका छन्।
प्रवक्ता रावतका अनुसार रोशन लुहारले आफूमाथि कुटपिट गरेको भन्दै राजेश लुहार र विशाल कोलीविरुद्ध प्रहरीमा निवेदन दिएका थिए। सोही विषयमा छलफलका लागि बोलाइएका दुवै पक्षबिच प्रहरी कार्यालय परिसरमै झैझगडा र कुटपिट भएपछि प्रहरीले संलग्न दुवै पक्षका ६ जनालाई पक्राउ गरेको छ।