ललितपुरमा चोरी गर्ने र चोरीको सुन किन्ने ५ जना पक्राउ

आइतबार, २९ कार्तिक, २०८३
डिजिटल संस्करण

तिहारको मौका छोपेर सुनका गरगहनासहितका सामान चोरी गर्ने तथा चोरीका गहना किन्नेलाई प्रहरीले पक्राउ गरेको छ। २४ कात्तिकको राति १२ः२० बजेतिर ललितपुरको टीकाथलीस्थित घरबाट चोरी गर्ने तीनसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घरमा प्रवेश गरी चोरी गर्ने महोत्तरीको सोनमा गाउँपालिका– ६ घर भई काठमाडौं–१४, कालिमाटी बस्ने बद्रीराय यादवका छोरा ३३ वर्षीय बिटु भन्ने प्रमोदकुमार यादव तथा काठमाडौं–३२ जडिबुटी बस्ने भारत बिहारको मोतिहारीका सुरेश गिरीका छोरा २० वर्षीय करन गिरी र बिहार समस्तीपुर फुलबरिया थाना बारोकका सियाचरण गिरीका छोरा २७ वर्षीय स्टार भन्ने गोकुल गिरीलाई पक्राउ गरेको छ।

यसैरी, सुनसरी इनरुवा– १ घर भई काठमाडौं कपन बस्ने निरजकुमार साहका छोरा २३ वर्षीय अनुराग सोनी साह र दोलखा मेलुङ–२ घर भई कागेश्वरी मनोहरा हात्तीडाँडा बस्ने वीरेन्द्र चौधरीकी छोरी २१ वर्षीय अनिता चौधरी खड्‌कासमेत पक्राउ परेका छन्। साहले चोरीको सुन किनेको तथा चौधरीले सुन बेच्न सहयोग गरेको प्रहरीले जनाएको छ।

उनीहरूले घरभाडामा बस्ने सशान्त साह र तेजेन्द्रकुमार चौधरीको कोठामा कोही नभएको मौका पारी ढोकाको ताला फोडी सुनचाँदीका गरगहना, ल्यापटप तथा नगद चोरी गरेको प्रहरीले जनाएको छ।

शुक्रबार अपराह्न ५ बजेतिर काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरीका सामानसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको छ।

सुझावित समाचार