मकवानपुर/ हेटौँडाको राप्ती नदी तटमा छ्ठ मान्ने भक्तजनको उपस्थिति सुरु भएको छ। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन हेटौँडा र आसपासका भक्तजनहरूको उपस्थिति सुरु भएको हो।

यस वर्ष छठ पर्वमा ६० हजारसम्म भक्तजन तथा दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ।
करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ अहिले हेटौँडाको ठुलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा स्थापित भएको छ।

हेटौँडा–१ स्थित राप्ती तटमा छठ पूजाका लागि पण्डाल निर्माण, सजावट, सरसफाइ, पार्किङ र सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छठ पूजा मूल समारोह समितिका कोषाध्यक्ष राजदेव बानियाँले जानकारी दिए। यस वर्ष एक हजार पाँच सयदेखि दुई हजारसम्म व्रतालु सहभागी हुने अनुमान गरिएको छ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन हुनेछ। गत वर्ष राप्ती तटमा ४० देखि ५० हजार भक्तजन सहभागी भएका थिए।
पर्वलाई सुरक्षित बनाउन दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन, ट्राफिक प्रहरी तथा सुरक्षा निकायले सवारी आवागमन र पार्किङ व्यवस्थापनसमेत मिलाएका छन्।

छठ पूजा समितिका संयोजक रविरञ्जन गुप्ताका अनुसार हेटौँडामा विसं २०३७ देखि छठ पर्व मनाउन थालिएको हो। अहिले मधेशी समुदायमा सीमित नरही विभिन्न समुदायको साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ।

छठ पूजा व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ भने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सात लाख रुपैयाँबराबरका ध्वनि उपकरण उपलब्ध गराएको आयोजकले जनाएको छ।
