ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। परम्परागत खेतीमा सीमित किसानले व्यावसायिक रुपमा गोलभेँडा उत्पादन गरी आयआर्जनको माध्यम बनाउन थालेका हुन्।
गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन हुने गोलभेँडा स्थानीय बजारमा खपत हुनुका साथै तराईका बजारसम्म पुग्न थालेको छ। दुर्गम गाउँमा उत्पादित कृषि उपजले बजार पाउन थालेपछि किसानलाई व्यावसायिक खेती विस्तार गर्ने हौसला मिलेको छ। गाउँपालिकाको आर्थिक विकास शाखाले व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न २०७६ सालदेखि नर्सरी सञ्चालन गर्दै आएको छ। नर्सरीबाट किसानलाई गोलभेँडाका बिरुवा वितरण गर्नुका साथै प्राविधिक टोली खेतबारीमै पुगेर खेतीसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको आर्थिक विकास शाखा प्रमुख विकास थेबेले जानकारी दिए।
थेवेका अनुसार पछिल्लो तीन महिनामा मात्रै एक लाख १४ हजार पाँच सय गोलभेँडाका बिरुवा वितरण गरिएको छ। व्यावसायिक किसानलाई एक हजार वटासम्म र घरायसी प्रयोजनका लागि खेती गर्न चाहने स्थानीयलाई एक सय वटासम्म बिरुवा उपलब्ध गराउने गरिएको छ। सिदिङ्वा–५ को पाथीभरा प्रगतिशील कृषक समूह, वडा नं. ४ को लाजेफुङ कृषक समूह तथा साविक साब्लाखुका विभिन्न वडामा गोलभेँडा खेती विस्तार हुँदै गएको छ। पाथीभरा प्रगतिशील कृषक समूहका अध्यक्ष जगन्नाथ दाहालले यसअघि बेमौसममा उत्पादित गोलभेँडा प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म बिक्री हुने गरेको बताए। अहिले उत्पादन र बजारको अवस्था अनुसार प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ।
गोलभेँडासँगै साब्लाखुमा बोडी र सिमी, मेहेले तथा सुरुमखिममा रुख टमाटर र निगुरो तथा आङ्खोप क्षेत्रमा अन्य तरकारीको व्यावसायिक खेती भइरहेको छ। दुर्गम गाउँमै कृषि उत्पादन गरेर बजारसम्म पु¥याउन थालेपछि किसानको आयआर्जन बढ्ने सम्भावना देखिएको छ। गाउँपालिकाको नर्सरी र प्राविधिक सहयोगले खेती विस्तारमा टेवा पुर्याएसँगै स्थानीय किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उत्पादनतर्फ अघि बढ्न थालेका छन्।