कुशेमा लागत साझेदारी विवादले निभेको बत्ती प्रशासनको पहलमा बल्यो

शनिबार, २१ कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकोट / लागत साझेदारीको रकम भुक्तानी नगरेको भन्दै बन्द गरिएको जाजरकोटको कुशे गाउँपालिका–८ थातिचौरस्थित ८५ किलोवाट क्षमताको सोलार मिनिग्रिड विद्युत् आयोजना शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ ।

गाउँपालिकाले सम्झौताअनुसार व्यहोर्नुपर्ने लागत साझेदारीको रकम उपलब्ध नगराएपछि सम्बन्धित कम्पनीले विद्युत् सेवा बन्द गरेको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका थिए ।

विद्युत् सेवा बन्द भएपछि स्थानीयको गुनासो बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय जाजरकोटले समस्या समाधानका लागि पहल गरेको थियो । प्रमुख जिल्ला अधिकारी नवराज बरालले मंसिर १९ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई पत्राचार गर्दै नागरिकको दैनिक जीवनसँग जोडिएको विद्युत् सेवा तत्काल सञ्चालनका लागि समन्वय र सहजीकरण गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी बरालका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कुशे गाउँपालिकाबीच भएको सम्झौताअनुसार गाउँपालिकाले आफ्नो हिस्साको लागत साझेदारी रकम भुक्तानी नगरेपछि कम्पनीले विद्युत् सेवा बन्द गरेको थियो । सेवा अवरुद्ध हुँदा विद्यार्थीको पढाइ, स्वास्थ्य सेवा, सञ्चारलगायतका आधारभूत सेवा प्रभावित भएका थिए ।

यसअघि कात्तिक १९ गते जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख र जनप्रतिनिधिबीच आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय देब रोकायाले विद्युत् सेवा सञ्चालनका लागि चन्दा संकलन गर्ने अनुमति माग गरेका थिए । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी बरालले समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रशासनको पहलपछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित भई २० लाख रुपैयाँ उपलब्ध गराउने तथा सम्झौताअनुसारको बाँकी रकमसमेत यथाशीघ्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए।प्रशासनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग निरन्तर समन्वय गरेपछि शुक्रबारदेखि थातिचौरमा विद्युत् सेवा पुनः सञ्चालन भएको हो । लामो समयदेखि विद्युत् सुविधाबाट वञ्चित स्थानीयले पुनः बत्ती बाल्न पाएका छन्।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको अवस्थामा स्थानीय सरकारको लागत साझेदारीबापतको रकम भुक्तानी नहुँदा विद्युत् सेवा नै बन्द हुन पुगेको थियो । प्रशासनको समन्वय र सहजीकरणपछि सेवा पुनः सञ्चालनमा आए पनि सम्झौताअनुसारको बाँकी रकम भुक्तानी हुन भने बाँकी रहेको छ ।


 

सुझावित समाचार