जाजरकोट / विकास निर्माणका काममा दिनरात खटिने हेभी इक्विपमेन्ट अपरेटरहरू आफैँ असुरक्षित रहेको गुनासो गरेका छन्।
सडक, पुल, भवनलगायत भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अपरेटरहरूले श्रमअनुसारको पारिश्रमिक, पेसागत सुरक्षा, सामाजिक सुरक्षा र उचित सम्मान नपाएको भन्दै आफ्ना समस्या सम्बोधन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
शनिबार हेभी इक्विपमेन्ट सञ्चालनमा संलग्न श्रमिक तथा अपरेटरहरूको दोस्रो भेला सम्पन्न भएको छ। आफ्नो पेसागत सुरक्षा, श्रमको सम्मान र हकहित सुनिश्चित गर्न माग गर्दै उनीहरूले भेला आयोजना गरेका हुन्।
विकास निर्माणका काममा दिनरात खटिने अपरेटरहरूले विभिन्न समस्या भोग्नुपरे पनि राज्य र सम्बन्धित निकायले आफ्ना समस्यालाई बेवास्ता गरेको गुनासो गरेका छन्। भेलामा सहभागी अपरेटरहरूले श्रमिकको योगदानअनुसार उचित पारिश्रमिक, सामाजिक सुरक्षा र पेसागत सुरक्षाको व्यवस्था गर्नुपर्ने माग उठाएका छन्।
काम गर्ने क्रममा दुर्घटनाको जोखिम, श्रमको उचित मूल्य नपाउने समस्या, रोजगारीको अनिश्चितता तथा पेशागत समस्या समाधानमा सम्बन्धित निकायले चासो नदेखाएको संघका कर्णाली प्रदेश अध्यक्ष भुपेन्द्र शाहीले बताए। दुर्घटनामा परेका श्रमिकले पाउनुपर्ने तोकिएको क्षतिपूर्तिसमेत राज्यबाट उपलब्ध हुन नसकेको उनीहरूको गुनासो छ।
कार्यक्रमका सभाध्यक्ष शशी किकले संगठनलाई श्रमिकको हकहित र पेशागत सुरक्षाका लागि बलियो साझा मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले अपरेटरहरूबीच एकता, सहकार्य र संगठनात्मक सक्रियता बढाउँदै आफ्ना समस्या सामूहिक रूपमा उठाउनुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय उपाध्यक्ष एकराज भण्डारीले अपरेटरहरूको हकहित संरक्षणका लागि संगठनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले श्रमिकका समस्या सम्बन्धित निकायसम्म पुर्याउने, पेसालाई मर्यादित बनाउने र अपरेटरहरूको अधिकार स्थापित गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
श्रमिकको एकता नै अधिकार प्राप्तिको मुख्य आधार भएको उल्लेख गर्दै उनले अपरेटरहरूले भोगिरहेका समस्या समाधानका लागि प्रदेश तथा जिल्ला तहका संगठनलाई थप सक्रिय बनाउनुपर्ने बताए। विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपरेटरहरूको पेशागत सुरक्षा र सम्मानलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
भेलामा रुकुम पश्चिम, डोल्पा र जाजरकोटका हेभी इक्विपमेन्ट अपरेटरहरूको सहभागिता रहेको थियो।