धनकुटा/ चाडपर्वका वेला जिल्ला प्रशासन कार्यालयसहित टोलीले धनकुटाको लेगुवामा बजार अनुगमन गरी अखाद्य वस्तु नष्ट गरेको छ ।
प्रशासनसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले महालक्ष्मी नगरपालिका– ५, लेगुवास्थित रामबजारका किराना तथा खुद्रा पसलमा अनुगमन गरेको छ । अनुगमनपछि ४७ हजार रुपैयाँबराबरका उपभोग्य मिति नाघेका खाद्यान्न, बेकरी तथा पेय पदार्थ फेला परेपछि जफत गरी नष्ट गरिएको हो ।
त्यसैगरी, अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, खरिद–बिक्रीको बिल नभएको र पसल दर्ता नगरी सञ्चालन गरिएको समेत पाइएको थियो । ती पसललाई आवश्यक प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गरेर सञ्चालन गर्न तथा देखिएका कमजोरी सुधार्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले बताए ।
पसलमा सामान राख्दा र उपभोक्तालाई बिक्री गर्दा उपभोग्य मिति जाँच गर्न अनुगमन टोलीले आग्रह गरेको छ । म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसललाई आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन चेतावनीसमेत दिइएको छ ।