आजदेखि बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

बुटवल- तिहारका अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’ आयोजना गर्ने भएको छ । महोत्सव २० देखि २२ कात्तिकसम्म बुटवल उपमहानगरपालिका– ८, सुक्खानगरस्थित शुक्रपथमा सञ्चालन हुने संघका महासचिव वसन्तप्रसाद ढकालले जानकारी दिए ।

संघका अध्यक्ष नरीश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले दीपावली सडक खाना महोत्सव सञ्चालन तथा व्यवस्थापन मूल समितिको संयोजकमा संघका अध्यक्ष पौडेललाई जिम्मेवारी प्रदान गरेको हो ।

त्यस्तै, संघका निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव ढकालले जानकारी दिए ।

त्यसैगरी, महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टीकाराम बन्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दीपक चापागाईंलाई स्टल तथा पूर्वाधार व्यवस्थापन तथा सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरू रामबहादुर भण्डारीलाई सुरक्षा व्यवस्थापन, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ व्यवस्थापन, विष्णुप्रसाद उपाध्यायलाई सरसफाइ व्यवस्थापन तथा लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । आयोजकका अनुसार दिउँसो ४ देखि राति १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ ।

महोत्सवमा स्थानीय, विभिन्न जातजातिका संस्कृतिसँग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिने संघले जनाएको छ । यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवर्द्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दीपावलीको सांस्कृतिक र धार्मिक महत्वलाई संरक्षण तथा प्रवर्द्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

सुझावित समाचार