देउवा पक्षको कांग्रेस उदयपुर सभापतिमा वसन्त बस्नेत

बिहिबार, १९ कार्तिक, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले उदयपुर जिल्ला कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन गरेको छ। त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

केही समयअघि मात्रै जिल्ला संयोजकको जिम्मेवारी पाएका बस्नेत बिहीबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका हुन्। देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले उनलाई जिल्ला सभापति घोषणा गरेका हुन्।

नवनिर्वाचित जिल्ला कार्यसमितिको उपसभापतिमा राजेन्द्र पौडेल र भक्त रानामगर चयन भएका छन्। सचिवमा विष्णु कोइराला र टेकबहादुर दाहाल सर्वसम्मत निर्वाचित भए। सहसचिवको नाम भने टुंगो लाग्न बाँकी रहेको बस्नेतले जानकारी दिए। ‘हाम्रो ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ,’ उनले भने।

जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय अधिवेशन प्रतिनिधि नारायण कार्की, कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरू सहभागी थिए।

देउवा समूहले यसअघि नै जिल्लाका आठवटै पालिका, प्रदेश र क्षेत्रीय अधिवेशनको प्रक्रिया सम्पन्न गरिसकेको छ। जिल्ला नेतृत्व चयनसँगै समूहले १५औँ महाधिवेशनको तयारीलाई थप अघि बढाएको छ।

सुझावित समाचार