नवलपुर/ पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७, कुलेनीमा गएराति कौडा खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ३ लाख ३ हजार १६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको १० जनाको संयुक्त प्रहरी टोलीले रातको करिब १ बजे स्थानीय रेशम तामाङको घरमा छापा मारेको थियो। गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा देवचुली नगरपालिका–१७ का १२ जना तथा गैँडाकोट नगरपालिका–१५ र १६ का एक–एकजना रहेका छन्। पक्राउ पर्नेमा घरधनीसमेत छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।