साढे १४ महिनापछि बिमा प्राधिकरणले पायो अध्यक्ष, प्रक्रिया भने अपारदर्शी

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • उम्मेदवारको नाम सर्टलिस्ट नै गरिएन, आवेदन मागेको पाँच महिनापछि विनाअन्तर्वार्ता सोझै नियुक्ति

काठमाडाैं- बिमा बजारको नियामक निकाय नेपाल बिमा प्राधिकरणले साढे १४ महिनापछि अध्यक्ष पाएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनविक्रम थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थापाको कार्यकाल चार वर्षको हुनेछ । १२ फागुन ०८१ मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शरद ओझा २ भदौ ०८२ मा बर्खास्तमा परेका थिए । त्यसपछि अध्यक्ष पद रिक्त छ ।  

प्रक्रिया भने अपारदर्शी
प्राधिरकणले १४ महिनापछि अध्यक्ष पाउँदा त्यसको प्रक्रिया भने अपारदर्शी देखिएको छ । बिमा ऐन, २०७९ दफा ७ अनुसार सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ, त्यसबाट एकजनालाई अध्यक्ष नियुक्ति गरिन्छ । त्यसअघि कम्तीमा पाँचजनालाई सर्टलिस्ट गरेर अन्तरवार्ताका लागि बोलाउने अभ्यास छ । त्यसका लागि सार्वजनिक सूचना नै प्रकाशन गरिन्छ । तर, यसपालि आवेदन दिएका ५१ जनाको नाम नै गोप्य राखियो । त्यसमा कसैलाई पनि सर्टलिस्ट गरेर अन्तरवार्ताका लागि बोलाइएन । एकैपटक मंगलबार अध्यक्ष नियुक्ति गरियो । यस विषयमा बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता अमृत लम्सालले फोन उठाएनन् । 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । 

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा भण्डारी 
सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उनलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । 

सुझावित समाचार