काठमाडौं/ कामना सेवा विकास बैंकले २०औँ वार्षिकोत्सका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
यसै अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँपटक रक्तदानसमेत गरेका छन् ।
बैंकका अनुसार कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको बर्दीवास, नारायणगढ क्षेत्रको कावासोती, पोखरा क्षेत्रको न्युरोड, बुटवल क्षेत्रको बुटवल ब्लड बैंकमा र पश्चिम क्षेत्रको घोराही तथा महेन्द्रनगर शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीको उपस्थिति थियो ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कप (छैटौँ संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका थिए ।