काठमाडौं/ गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– ३, बालुवाटारमा १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारी बुधबारदेखि बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले गरे । यससँगै बालुवाटार शाखामार्फत ग्राहकले नियमित बैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।
यसबाट ग्राहकलाई आवश्यकताअनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ । बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।