काठमाडौं/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रेडिट रेटिङ ‘डबल ए माइनस’बाट ‘डबल ए’मा स्तरोन्नति भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी क्षमता, लगानी संरचना, बजार उपस्थिति तथा व्यवस्थापकीय सबलताको मूल्यांकन गर्दै रेटिङ बढाएको हो ।
यसअघि जीवन बिमा क्षेत्रमा इक्रा नेपालबाट ‘डबल ए माइनस’ रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको नेपाल लाइफले अहिले थप एक तह माथिको रेटिङ प्राप्त गरेको हो । कम्पनीले यसलाई वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
इक्रा नेपालको पछिल्लो मूल्यांकनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ । यो नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा बढी हो । त्यस्तै, कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएको छ । यसले कम्पनीको लगानी पोर्टफोलियोलाई थप विविधीकृत र सुदृढ बनाएको मूल्यांकन गरिएको छ ।