कास्की/ ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने गरी पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ सम्पन्न भएको छ । नीति रिसर्च प्रालिको आयोजनामा सम्पन्न समिटमा लगानीका नयाँ अवसर, चुनौती, लगानीको खोजी, लगानीका क्षेत्र, लगानीको सुरक्षा, सरकारले व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउने, स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा सहज रूपमा उपलब्ध गराउने, कर्जाको सीमा बढाउने, विनाधितो ऋण दिने व्यवस्था, नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनलगायतका विषयमा बहस, छलफल एवं अनुभव आदानप्रदान गरिएको थियो ।
समिटमा राष्ट्र निर्माणमा स्टार्टअपको भूमिकाबारे भएको बहसमा स्वदेशमै उत्पादन गरेर आर्थिक रूपमा लाभ लिन, लगानीका अवसर बढाउन आवश्यक स्रोत–साधनको खोजी र सहकार्यका उपायबारे केन्द्रित रहेर छलफल गरिएको आयोजक नीति रिसर्चकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् । स्टार्टअपमार्फत युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने लक्ष्य राखेर अघि बढेको उनले बताइन् । स्टार्टअपका लागि राज्य, निजी क्षेत्र र बैंकबाट उपलब्ध सहयोग तथा सुविधाबारे युवालाई जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको र यसले व्यवसायी तथा लगानीकर्तालाई अवसर दिलाउने उनको भनाइ छ ।
पोखराबाट सुरु भएको प्रदेशस्तरीय यो कार्यक्रम देशका अन्य ६ वटा प्रदेशमा समेत आयोजना गरिनेछ । प्रत्येक प्रदेशबाट उत्कृष्ट आइडिया र सम्भावना भएका चारदेखि पाँचवटा स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा विद्वत् प्रवचन दिँदै इन्जिनियर उमेशकुमार गुप्ताले यस्ता कार्यक्रममार्फत बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई जोड्न सकिने बताएका थिए । लगानीकर्ताका लागि कतिपय अवस्थामा अवसरको खाँचोसँगै अभाव र अन्योलको अवस्थामा यस्ता कार्यक्रमले पुलको काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ उद्यम सुरु गर्न चाहनेलाई अनुदानको व्यवस्था गरे पनि सुरुवाती उत्साह र उमंगअनुसार पछिल्लो समय अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतासँग जोडेर रोजगारी सिर्जना गर्नु नै स्टार्टअपको मुख्य उद्देश्य रहेको बताउँदै देशका लागि यो आवश्यकता भएको धारणा राखेका थिए ।