कास्की- पर्यटकीय नगरी पोखरामा वार्षिक चार करोडभन्दा बढीको फूलको कारोबार हुने गरेको छ । पोखरामा खपत हुनेमध्ये करिब ३० प्रतिशत फूल अन्य स्थानबाट आउने गरेको फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अध्यक्ष श्रीराम सुवेदीले जानकारी दिए । तिहारको समयमा मात्र दुई करोड हाराहारीको कारोबार हुने गरेको उनको भनाइ छ । पोखरामा भारत, जापान, सिंगापुर, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकबाट फूलको बिउ तथा केही मात्रामा बिरुवासमेत ल्याइन्छ । फूलको मूल्य १५ रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म पर्ने फ्यानले जनाएको छ । पोखरामा विशेष गरी गोदावरीसँगै सिजनल फूलको बढी कारोबार हुने गरेको छ ।
पर्यटकीय राजधानी भएका कारण यहाँका अधिकांश पुष्प व्यवसायी होटेलहरूमा निर्भर छन् । पोखरामा बिक्री हुनेमध्ये ५० प्रतिशतको हाराहारीमा स्थानीय होटेलहरूमा नै खपत हुने गरेको छ । अन्य कार्यालय प्रयोजन र व्यक्तिहरूले आफ्नो घर सजावटका लागि फूल लैजाने गरेका छन् । वार्षिक रूपमा हेर्दा पोखरामा बढी मात्रामा कट फ्लावर बिक्री हुने व्यवसायीहरूको भनाइ छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पुष्प व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र कृषि उद्यमशीलतामा महŒवपूर्ण योगदान पुर्याइरहेको बताए । महानगरपालिकाले किसानहरूलाई प्रोत्साहन दिन बिउ तथा मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदान दिँदै आएको उनले बताए ।
भाइटीका र छठ पर्वलाई लक्षित गर्दै पोखरामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला सुरु भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित फ्यानको आयोजनामा २३ कात्तिकसम्म मेला चल्नेछ । मेलामा २२ व्यावसायिक, तीन कृषि सामग्री र दुई सूचनामूलक गरी २८ वटा बिक्री स्टल रहेको फ्यान कास्कीका अध्यक्ष सुवेदीले जानकारी दिए ।