मुख्यमन्त्रीको स्वागत र भाषण सुन्न विद्यार्थीको प्रयोग

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • उदयपुरमा यातायात कार्यालयको भवन उद्घाटन गर्ने क्रममा तीन विद्यालयले पढाइ रोकेर पठाए ५० विद्यार्थी 

उदयपुर- मुख्यमन्त्रीको स्वागत र भाषण सुनाउन उदयपुरमा विद्यालयको नियमित पठनपाठन बन्द गरेर बालबालिका विद्यार्थीलाई सरकारी कार्यक्रममा सहभागी गराइएको छ । बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी यातायात व्यवस्था सेवा कार्यालय, जलजलेको भवन उद्घाटन कार्यक्रममा तीनवटा विद्यालयका बालबालिकालाई प्रयोग गरिएको हो ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको कार्यालयले विद्यार्थी सहभागी गराउन विद्यालयलाई पत्राचार गरेको थियो । कार्यालयको पत्रपछि विद्यालयले नियमित पठनपाठन बन्द गरेर विद्यार्थीलाई मुख्यमन्त्रीको स्वागतका लागि कार्यक्रममा पठाएका थिए । कार्यालयले जनता माध्यमिक विद्यालय, उदेशी इंग्लिस बोर्डिङ स्कुल गाईघाट र अन्नपूर्ण बोर्डिङ स्कुललाई पत्र पठाएको थियो । पत्रमा भवन उद्घाटन कार्यक्रममा विद्यार्थी सहभागी गराइदिन अनुरोध गरिएको थियो ।

कार्यालयको पत्रकै आधारमा विद्यार्थी सहभागी गराइएको जनता माध्यमिक विद्यालयकी शिक्षिका दुर्गा दाहालले बताइन् । कार्यालयले कक्षा ८, ९ र १० का ५० जना विद्यार्थी ल्याउन भनेअनुसार सहभागी गराइएको उनको भनाइ छ । ‘यातायात कार्यालयबाटै विद्यार्थी लिएर आउनु भनेकाले सहभागी गराएका हौँ,’ उनले भनिन् ।

यातायात व्यवस्था सेवा कार्यालय, जलजलेका निमित्त प्रमुख पवनकुमार परियारले वडा कार्यालयको समन्वयमा विद्यालयलाई पत्राचार गरी विद्यार्थी सहभागी गराइएको बताए । ‘हामीले स्वागतका लागि मात्र बोलाएका हौँ । दिनभर कार्यक्रममा राख्ने योजना थिएन । वडा कार्यालयको समन्वयमा बोलाएका हौँ,’ उनले भने । विद्यालय समय बालबालिकाको सिकाइ र शैक्षिक विकासका लागि छुट्याइएको समय हो ।

त्यस अवधिमा सरकारी तथा गैरसरकारी निकायले विद्यालयसँग समन्वय नगरी विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदा नियमित पठनपाठन प्रभावित हुने त्रियुगा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले बताइन् । ‘मुख्यमन्त्रीको बुधबारको कार्यक्रममा मात्र होइन, यसअघि र पछि पनि विद्यालयका विद्यार्थीलाई पठनपाठनको समयमा विभिन्न कार्यक्रममा प्रयोग गर्ने गरिएको छ,’ उनले भनिन्, ‘यो कुरा हामीले मात्र रोकेर सम्भव छैन ।’

विद्यालय समयमा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउन नपाइने कानुनी व्यवस्था भए पनि स्थानीय तहमा कार्यान्वयन हुन नसकेको राउतको भनाइ छ । यसअघि पनि विद्यार्थीलाई पठनपाठनको समयमा कार्यक्रममा सहभागी नगराउन आग्रह गर्दा सम्बन्धित कार्यालयले बेवास्ता गर्ने गरेको उनले बताइन् । सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने कार्यक्रममा भिड देखाउन विद्यालय समयमा समेत बालबालिकाको प्रयोग हुने गरेको छ ।

स्थानीय तहमा जनप्रतिनिधिको स्वागत र प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यको स्वागतमा विद्यार्थी सहभागी गराउने प्रवृत्ति बढेको छ । विद्यालयको पठनपाठन प्रभावित हुने गरी बालबालिकालाई कार्यक्रममा सहभागी गराउनु गलत भएको शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका प्रमुख तथा शिक्षा समन्वय अधिकारी भवानीप्रसाद कट्टेलले बताए ।

‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ ले विद्यालयलाई राजनीतिमुक्त र शान्ति क्षेत्रका रूपमा घोषणा गरेको छ । विद्यार्थीलाई राजनीतिक दलका र्याली, आमसभा, बन्द–हडताल वा कुनै पनि दलगत कार्यक्रममा सहभागी गराउन निषेध गरिएको छ,’ उनले भने ।

कट्टेलले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ ले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने, जुलुस वा प्रदर्शनमा प्रयोग गर्ने कार्यलाई कसुर मानेको बताए । मुख्यमन्त्रीको स्वागतका लागि विद्यार्थी बोलाइएको विषयमा आफूले आयोजकलाई प्रश्नसमेत गरेको उनको भनाइ छ । ‘मुख्यमन्त्रीको स्वागतका लागि बोलाइएका रहेछन् । त्यो गलत हो । 

यस विषयमा छलफल गरेर प्रवृत्ति रोक्नुपर्छ,’ उनले भने । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गम्बु शेर्पाले कार्यक्रममा विद्यार्थी सहभागी गराइएको विषयमा विस्तृत जानकारी नभएको बताए । कार्यालयले पत्राचार गरेर विद्यार्थी ल्याएको जानकारी पाएको भन्दै उनले यसबारे बुझ्ने बताए । ‘विद्यालयको पढाइ नै प्रभावित हुने गरी ल्याइएको भए सचेत गराउनेछु,’ उनले भने । मन्त्री शेर्पाले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ र बालबालिकासम्बन्धी ऐन, २०७५ उल्लंघन गर्न नपाइने बताए ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले यातायात व्यवस्था सेवा कार्यालय, जलजलेको नवनिर्मित १३ कोठे भवन उद्घाटन गरेका थिए । जलजलेस्थित कार्यालयलाई सेवाग्राहीमैत्री, व्यवस्थित र सुविधासम्पन्न बनाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

सुझावित समाचार