एमालेविरुद्धको अफवाह चिर्न प्रवासीलाई भण्डारीको आग्रह

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीविरुद्ध फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य–प्रमाणसहित खण्डन गर्न प्रवासी नेपालीलाई आग्रह गरेकी छिन् । पार्टीसम्बद्ध प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनलाई बुधबार थापाथलीस्थित कार्की बैंक्वेटमा सम्बोधन गर्दै भण्डारीले त्यस्तो आग्रह गरेकी हुन् ।

‘जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढ्दै आएको एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छ,’ उनले भनिन्, ‘विशेषगरी, विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईँहरूले महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।’

प्रवासमा रहेका सबै नेपालीको अवस्था र आवश्यकता फरक–फरक हुने भएकाले सबैलाई समेटेर संगठनका गतिविधि अघि बढाउन तथा विशेषगरी महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्न पनि उनले प्रतिनिधिको ध्यानाकर्षण गराइन् ।

विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनले विदेशमा रहँदा हासिल गरेको ज्ञान, सिप, प्रविधि, अनुभव र कार्यसंस्कृतिजस्ता पुँजीलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा क्षेत्रको विकाससँग जोड्ने उपयुक्त वातावरण निर्माण गर्न ध्यानाकर्षण पनि गराइन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेकोमा जोड दिँदै उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । 

सुझावित समाचार