धितोपत्र बोर्डको सूचना प्रविधि नीति : अब अल्गोरिदमबाटै सेयर खरिद–बिक्री

बजार प्रणालीको अडिट अनिवार्य, विदेशमा डाटा राख्न नपाइने

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अल्गोरिदमबाटै सेयर कारोबार गराउने परिकल्पना गरेको छ । बोर्डले ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ जारी गर्दै सेयर खरिद–बिक्रीमा अल्गोरिदमिक कारोबार प्रणाली लागू गर्ने बताएको हो । अर्थात्, सेयर कारोलाई पूर्ण स्वचालित बनाउने परिकल्पना गरिएको छ ।

बोर्डले नीतिमार्फत सेयर कारोबार, बजार निगरानी र लगानीकर्ताको सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्ने योजना बनाएको छ । यसका लागि छुट्टै निर्देशन जारी गरिने बताइएको छ । ‘धितोपत्र कारोबार, बजार निगरानी र लगानीकर्ता सेवामा कृत्रिम बुद्धिमत्ता/मेसिन सिकाइ प्रविधिको प्रयोगका लागि बोर्डले निर्देशन जारी गर्नेछ,’ नीतिमा भनिएको छ । 

यसैगरी, अल्गोरिदमिक कारोबार प्रणाली ल्याउने परिकल्पना पनि गरिएको छ । अर्थात् अल्गोरिदमबाट सेयर कारोबार गराउने कल्पना बोर्डले गरेको छ । ‘अल्गोरिदमिक कारोबार प्रणालीहरू प्रयोगमा ल्याउनुपूर्व धितोपत्र बजारको स्वीकृति आवश्यक हुनेछ, धितोपत्र बजारले सोको विस्तृत जानकारीसहितको प्रतिवेदन बोर्डमा पेस गर्नुपर्नेछ र बोर्डबाट सो प्रतिवेदनउपर अध्ययन गरी आवश्यकतानुसार थप व्यवस्था गर्न लगाउन सक्नेछ । एआई तथा मेसिन लर्निङ प्रणालीमा अनिवार्य मानवीय निगरानीको व्यवस्था हुनुपर्नेछ । एआई प्रणालीको निर्णय प्रक्रिया व्याख्यायोग्य हुनुपर्नेछ ।’

प्रणालीको अडिट अनिवार्य 
अब सेयरबजार सञ्चालन गर्न प्रयोग गरिने प्रणालीको अडिट अनिवार्य गरिने भएको छ । प्रणाली बनाउने तथा सञ्चालन गर्ने संस्थाहरूले नै यसको अडिट गर्नुपर्नेछ । पछिल्लो समय सेयरबजारको प्रणालीमा साइबर सुरक्षाको जोखिम बढेको छ । गत ४ असोजमा टिएमएस प्रणालीको डेटा राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा र्यान्समवेयर नामक भाइरस आक्रमण भएको थियो । त्यस घटनापछि बोर्डले सूचना प्रविधि नीति ल्याएर बजार प्रणालीको अडिट गर्नुपर्ने नीति ल्याएको हो ।

‘बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरिक्षण (सिस्टम अडिट) गर्नुपर्ने व्यवस्था गरिनेछ,’ नीतिमा भनिएको छ, ‘बजार पूर्वाधार संस्थाहरूले वार्षिक र अन्य बजार सहभागीहरूले द्विवार्षिक सूचना प्रविधि अडिट गराउनुपर्नेछ ।’

अडिटमा कम्तीमा कारोबार प्रणाली, राफसाफ, साइबर सुरक्षा नियन्त्रण र डाटा व्यवस्थापन समावेश हुनुपर्ने बोर्डको भनाइ छ । अडिट प्रतिवेदन तीन महिनाभित्र बोर्डमा पेस गर्नुपर्नेछ । संवेदनशील निष्कर्ष पाइएमा ३० दिनभित्र सुधार गर्नुपर्ने नीतिमा उल्लेख छ । 

तथ्यांक विदेशमा भण्डार गर्न नपाइने
बोर्डले नीतिमार्फत धितोपत्र बजारसम्बन्धी तथ्यांक अनिवार्य रूपमा नेपालभित्र नै भण्डारण गर्नुपर्ने बताएको छ । तथ्यांकलाई तीन भागमा वर्गीकरण गरेर भण्डारण गर्नुपर्ने बताइएको छ । धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी केन्द्रीय तथ्यांक बैंक स्थापना गरिने नीति पनि बोर्ड ल्याएको छ । ‘बजारसम्बन्धी तथ्यांक तथा जानकारीको अभिलेख तथा व्यवस्थापनका लागि सूचना प्रविधियुक्त धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी केन्द्रीय तथ्यांक बैंकको सुधार तथा विकास गरिनेछ,’ बोर्डले भनेको छ । बोर्डका अनुसार सार्वजनिक, संवेदनशील व्यापार र व्यक्तिगत लगानीकर्ता गरेर तथ्यांकलाई तीन भागमा विभाजन गरेर भण्डारण गर्नुपर्नेछ । धितोपत्र बजार तथ्यांक नेपालभित्र नै भण्डारण अनिवार्य हुने नीतिमा उल्लेख छ । सेयरबजार सहभागीहरूले विद्युतीय रूपमा सूचनाप्रवाह तथा प्राप्ति गर्न सक्ने गरी विद्युतीय सूचना प्रणाली लागू गर्ने पनि बताइएको छ । 

कसरी हुन्छ अल्गोरिदमबाट कारोबार ?
अहिले मानिस आफैँले नै सेयर खरिद–बिक्री गर्छन् । अल्गोरिदमिक कारोबार प्रणालीमा भने सफ्टवेयरमार्फत प्रणालीले बजारको अवस्था विश्लेषण गरेर निर्धारित सर्त पूरा भएपछि आफैँ खरिद–बिक्री गरिदिन्छ ।

लगानीकर्ताले कुनै कम्पनीको सेयरमूल्य एक हजारभन्दा तल झरेमा किन्ने नियम बनाउँछ भने सफ्टवेयरले उक्त कम्पनीको बजारमूल्यमा निरन्तर निगरानी गरिरहन्छ । सेयर मूल्य लगानीकर्ताले चाहेअनुसार एक हजारभन्दा तल झर्नासाथ खरिद आदेश दिन्छ । यसमा मानवीय शक्ति आवश्यक नपर्ने विज्ञहरू बताउँछन् । यी सबै काम स्वचालित हुन्छन् । अमेरिकालगायतका विकसित मुलुकमा अल्गोरिदमिक कारोबार प्रणालीहरू यसअघि लागू भएका छन् । भारतले पनि सन् २०१२ मा यससम्बन्धी निर्देशका ल्याइसकेको छ । त्यो प्रविधिलाई नेपालले पनि लागू गर्न लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुरहरि पराजुलीले विकसित सेयरबजारमा यस्तो कारोबार प्रणाली सञ्चालनमा रहेको बताए । ‘कतिपय विकसित बजारमा यस्तो प्रणाली छ । यसलाई एल्गो कारोबार प्रणाली भनिन्छ । यसमा लगानीकर्ताले कुनै कम्पनीको सेयरमूल्य यतिमा आयो भने किन्नु र यतिमा पुग्यो भन्ने बेच्नु भनेर मेसिनमा सेट गरिन्छ । त्यो मूल्यसँग म्याच भयो भने मेसिनले सोहीअनुसार खरिद बिक्रीको अर्डर राख्छ,’ उनले भने, ‘तर, नेपालमा यो धेरै जोखिमयुक्त हुने भएकाले लागू गरिएको छैन । सिस्टमले हुँदै नभएको मात्रामा सेयर बिक्रीको अर्डर राखिदियो, लगानीकर्तासँग पैसा नहुँदानहुँदै पनि सेयर किनिदियो भने के गर्ने ? यस्ता जोखिम भएका कारण यसलाई विकसित बजारले मात्रै अपनाउन सकेका छन् ।’ 

साइबर आक्रमण रोक्ने प्रणाली अनिवार्य 
सेयरबजार प्रणालीलाई साइबर आक्रमणबाट रोक्नका लागि बहुस्तरीय ब्याकअप रणनीति लागू गर्ने नीति पनि ल्याइएको छ । त्यसका लागि इम्युटेबल स्न्यापसट र एअर–ग्याप्ड प्रणाली दुवै प्रणाली अनिवार्य गरिने बोर्डको भनाइ छ । ‘संवेदनशील डाटा र डिजिटल प्रणालीलाई र्यान्समवेयर, मालवेयर, साइबर आक्रमण र भुलवश हुने भण्डारण परिमार्जन वा डिलिटबाट पूर्ण रूपमा सुरक्षित राख्नका लागि बहुस्तरीय व्याकअप रणनीति लागू गरिनेछ,’ नीतिमा भनिएको छ, ‘यसअन्तर्गत इम्युटेबल स्न्यापसट र एअर–ग्याप्ड व्याकअप दुवै प्रणाली अनिवार्य प्रयोग गरिनेछ ।’

सुझावित समाचार