ताप्लेजुङका बजारमा जताततै प्लास्टिकका फूलमाला

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

ताप्लेजुङ/ ताप्लेजुङका बजारमा प्लास्टिकका फूलमाला छ्याप्छ्याप्ती बिक्रीका लागि पसलमा राखिएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री, मखमली तथा प्लास्टिकका फूल ल्याउन प्रतिबन्ध गरेको छ । तैपनि, बजारमा प्लास्टिकका फूलमाला देखिएका हुन् ।

तिहार नजिकिएसँगै सयपत्री र मखमली फूलको माग बढेको छ । तर, बजारमा स्थानीय रूपमा उत्पादित फूल पर्याप्त मात्रामा उपलब्ध नहुँदा प्लास्टिकका फूलमाला छ्यापछ्याप्ती भएका हुन् । बजारमा स्थानीय रूपमा उत्पादित फूल पर्याप्त मात्रामा उपलब्ध छैनन् । किसानले सयपत्री र मखमली फूल रोपे पनि उत्पादन राम्रो नभएको बताएका छन् । रोपिएका फूलमध्ये कतिपयमा फूल कम फूलेको र कतिपयमा अपेक्षाअनुसार उत्पादन नभएको किसानको भनाइ छ । 

सरकारले आयातित फूल र प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध लगाएपछि स्वदेशी किसानलाई फूलखेतीतर्फ आकर्षित गर्ने र स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने अपेक्षा गरिएको थियो । तर, ताप्लेजुङमा स्थानीय उत्पादन बढ्न नसक्दा बजारमा प्लास्टिकका फूलमालाको बिक्री रोकिएको छैन । प्रतिबन्ध भए पनि प्रभावकारी अनुगमन नहुँदा पसलमा प्लास्टिकका फूल सजाएर बिक्री भइरहेको छ । फूलको आवश्यक बिउ, प्राविधिक ज्ञान र खेती गर्ने तरिकाबारे पर्याप्त जानकारी नहुँदा उत्पादन बढाउन समस्या भएको किसानहरू बताउँछन् ।

सयपत्री र मखमली फूलखेतीका लागि उपयुक्त वातावरण भए पनि व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या र उत्पादन दुवै कम रहेको उनीहरूको भनाइ छ । तिहारमा मात्रै नभई विवाह, पूजा, सभा, मेला तथा विभिन्न सार्वजनिक कार्यक्रममा समेत फूलको प्रयोग बढ्दै गएको छ । त्यसैले वर्षभरि नै फूल उत्पादन गर्न सके स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने सम्भावना छ । तर, अहिलेको उत्पादनले जिल्लाभित्रकै मागसमेत पूरा गर्न नसक्ने अवस्था रहेको किसान बताउँछन् । 

स्थानीय किसानलाई फूलखेतीमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र र स्थानीय तहले बिउ, मल तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । किसान डिल्लीराम भट्टराईले किसानको पहिचान गरी उत्पादनको तथ्यांक राख्ने र बजार व्यवस्थापनमा सहयोग गर्ने हो भने जिल्लामा फूलखेती विस्तार गर्न सकिने उनको विश्वास छ । 

सुझावित समाचार