काठमाडाैं- ०५४ मा नेपाल प्रहरीले ३० प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना खुलाएको थियो । त्यस वर्ष पहिलोपटक लोकसेवा आयोगले प्रहरी निरीक्षक पदको भर्नामा परीक्षा लिँदै थियो । जुन परीक्षाका लागि मागभन्दा कम अर्थात् २९ जना मात्र उत्तीर्ण भएका थिए ।
त्यसमध्ये एक थिए, बुधबार नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त भएका डा. मनोजकुमार केसी । केसी मात्र होइन, प्रहरीमा यो ब्याच निकै सफल भयो । एउटै ब्याचबाट चारजना संगठनको नेतृत्वमा पुगिसकेका छन् । दुईजना नेपाल प्रहरी र दुईजना सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।
सरकारले बुधबार महानिरीक्षक पदबाट प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाएका दानबहादुर कार्की पनि सोही ब्याचका हुन् ।
त्यस्तै, हालका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र सशस्त्रका निवर्तमान आइजिपी राजु अर्याल पनि ०५४ मै नेपाल प्रहरीमा भर्ना भई ०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
यही ब्याचबाट नेपाल प्रहरीमा राजन अधिकारी एआइजीमा छन् भने दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, गोविन्द थपलिया, सुदर्शन कोइराला, अरुण पौडेल, दीपक रेग्मीलगायत डिआइजी पदमा कार्यरत छन् ।