जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका– ८, पोखरीका करिब ३० वर्षीय बले थापाले आफ्नै दाजु नाता पर्ने ४० वर्षीय भविराम थापामाथि धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको हो।
बलेले ०८३ कात्तिक १७ गते साँझ जुनीचाँदे गाउँपालिका– ८, पंकस्थित भविराममाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएका भविरामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि बले फरार भएका छन्।
इलाका प्रहरी कार्यालय पञ्चलादहबाट प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सातजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले धारिलो हतियार प्रहारबाट भविराम थापाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। घटनामा संलग्न बले फरार रहेको र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए।