कांग्रेस नेतृत्वको मधेश सरकार अल्पमतमा परेपछि गगन थापा र केपी ओलीबिच भेटवार्ता

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी ओलीबिच मंगलबार भेट भएको छ । 

ओलीनिवास गुन्डुमा भएको भेटमा मधेश सरकारबारे छलफल भएको थापाको सचिवालयले जनाएको छ । मधेशमा कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । 
तर, सरकार गठनताकाको सहमति कार्यान्वयन नभएको भन्दै सत्तासाझेदार एमालेका चार मन्त्रीले गत ३० असोजमा राजीनामा दिएका थिए । एमाले संसदीय दलले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलाई पत्र पठाउँदै ३० असोज देखि लागू हुने गरी समर्थन फिर्ता लिएको जानकारी गराएको थियो । 

कांग्रेसले बहुमत जुटाउने प्रयास गरिरहेको र एमालेले नयाँ समीकरणका लागि छलफल गरिरहेका वेला मंगलबार थापा–ओलीबिच भेट भएको हो । अहिले कांग्रेस र नेकपा सरकारमा छन् । 

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा जसपा र लोसपाबिच पार्टी एकता भएपछि बनेको एकीकृत शक्ति २६ सांसदसहित सबैभन्दा ठुलो समूह छ । एमालेका २४, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।
 

सुझावित समाचार