गगन टिमले लियो शपथ : कानुनले निषेध गरेका कार्यमा संलग्न नहुने प्रतिज्ञा

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण
गगन टिमले लियो शपथ : कानुनले निषेध गरेका कार्यमा संलग्न नहुने प्रतिज्ञा

१५औँ महाधिवेशनबाट निर्वाचत पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ खुवाउँदै सभापति गगन थापा । तस्बिर : संजित परियार/नयाँ पत्रिका

कांग्रेस सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । सभापति थापाले यसअघि ३१ असोजमै शपथ लिएर कार्यभार सम्हालेका थिए । थापाले बिहीबार पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।

शपथ कार्यक्रम फरक ढंगले गरिएको थियो । नवनिर्वाचित पदाधिकारीलाई शपथ, प्रमाणपत्र वितरणका साथै पदबहालीसमेत गराइएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । पदाधिकारी र सदस्यहरूलाई पार्टी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित लिखित प्रतिज्ञा गराइएको छ । शपथपछि उनीहरूले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै, देश र जनताको हित चिताई संविधानले तोकेको नागरिक कर्तव्यहरू इमानदारीपूर्वक पालन गर्ने प्रतिज्ञा उनीहरूले गरेका छन् । कांग्रेसको विधान, सिद्धान्त र लक्ष्य ‘समुन्नत नेपाल र सम्मानित नेपाली’प्रति समर्पित रही पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्न सक्रिय र कुशलतापूर्वक पदीय जिम्मेवारी पूरा गर्ने, पार्टीको नीति निर्देशनबमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिमा सक्रियतापूर्वक सहभागी हुने, पार्टीको अनुशासन पालना गर्ने र संगठनात्मक निर्णयलाई सम्मान र कार्यान्वयन गर्ने शपथ लिएका छन् ।

यस्तै, नेपालको संविधान तथा प्रचलित कानुनले निषेध गरेका कुनै पनि कार्यमा संलग्न नहुने र आफ्नो क्षमताअनुसार यस्ता कार्य रोक्न प्रयास गर्ने शपथ पनि लिएका छन् । पार्टी र समाजलाई जोड्दै सामाजिक कार्यमा सक्रिय रहने, पार्टीको विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता कार्यहरूविरुद्ध उभिने शपथ पनि उनीहरूले लिएका छन् । सधैँ सत्य निष्ठा, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहने र पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्ने शपथ कांग्रेस पदाधिकारी तथा सदस्यहरूले लिएका छन् । गत १८–२३ असोजमा सम्पन्न महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम नतिजा ३० असोजमा सार्वजनिक गरिएको थियो ।

चारवर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गत निर्वाचनबाट पदाधिकारीमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संगौला निर्वाचित भएका छन् । सहमहामन्त्रीमा रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बहादुरसिंह लामा, प्रकाश स्नेही, अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, फिरदोश आलम, जीवनबहादुर शाही र अल्पसंख्यक/अपांगतबाट आङगेलु शेर्पा निर्वाचित भएका छन् । २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी सदस्य र पदाधिकारी सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ । ६६ जना केन्द्रीय सदस्य र केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र चार सहमहामन्त्री सभापति थापाले मनोनीत गर्नेछन् । कांग्रेसले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकेको छ । १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ तोकिएको हो । उनीहरूको पदलाई होल्डमा राखिएको कांग्रेसले जनाएको छ ।

छठपछि जिल्ला र प्रदेश अधिवेशन
कांग्रेसले छठपछि जिल्ला र प्रदेश अधिवेशन गर्ने भएको छ । वडा, पालिका र निर्वाचन क्षेत्र हुँदै १५औँ महाधिवेशन गत असोजमा सम्पन्न गरेको कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन भने मंसिरमा गर्ने तयारी गरेको हो । ‘समय अभावका कारण महाधिवेशनअघि जिल्ला र प्रदेश अधिवेशन गर्न सकिएन । छठपछि बाँकी अधिवेशन सम्पन्न गर्ने तयारी छ,’ केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले भने । सभापति थापाले केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार बनेर पराजित भएपछि जिल्ला र प्रदेशको उम्मेदवार बन्न नपाउने बताएका छन् ।

शपथपछि सभापति थापाले पूरै कार्यकालको कार्ययोजना कार्यान्वयनमा जाने बताएका छन् । महाधिवेशनबाट पारित नीति तथा संगठन सुधारका योजनालाई एकीकृत गरेर चार वर्षको क्यालेन्डर बनाउने बताए । चार वर्षको कार्ययोजना तयार पारेर आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने उनले जानकारी दिए । ‘आगामी चार वर्षको कार्ययोजना बनाएर कार्यान्वयनमा जान्छौँ । अबको बैठकमा कार्ययोजना पेस हुन्छ । क्यालेन्डर बनाएर काममा लाग्नु छ,’ थापाले भने ।

तोकियो कांग्रेस पदाधिकारीको वरीयताक्रम
कांग्रेस पदाधिकारीको वरीयताक्रम निर्धारण गरिएको छ । पदाधिकारीले बिहीबार शपथ लिएका हुन् । वरीयता क्रममा सभापति गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी छन् । महामन्त्रीमा महामन्त्रीमा प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणा छन् । 

सहमहामन्त्रीमा बहादुरसिंह लामा, योगन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मनोजमणि आचार्य र फिरदोश आलम छन् । महाधिवेशनबाट २० पदाधिकारी निर्वाचित भएका हुन् । २५ पदाधिकारीमध्ये एक कोषाध्यक्ष र चार सहमहामन्त्री सभापतिले मनोनित गर्ने वैधानिक व्यवस्था छ ।

सुझावित समाचार