अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन : अध्यक्ष ओली

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देशले अहिले स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न नपाएको बताएका छन्। उनले देशलाई वर्तमान अवस्थाबाट मुक्त गरी स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न आन्दोलनको विकल्प नभएको बताए।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज नवनियुक्त तीन केन्द्रीय सदस्यलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले देशमा राज्यआतंक, गुन्डाराज र निरंकुशता बढिरहेको आरोप लगाए। उनले देशलाई संकटपूर्ण अवस्थाबाट पार लगाउने जिम्मेवारी एमालेको काँधमा आएको बताए।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पार्टीलाई एकताबद्ध र अनुशासित बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, गत फागुन २१ गते भएको निर्वाचनलाई प्रतिगमनको योजनाबद्ध शृंखलाको संज्ञा दिँदै उनले आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सुझावित समाचार