उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी मंसिर २० गतेभित्र जिल्लाका आठवटै पालिका तथा वडा अधिवेशन सम्पन्न गर्ने भएको छ। पार्टी केन्द्रको सर्कुलरअनुसार राजनीतिक तथा वैचारिक प्रशिक्षणसहित संगठनात्मक गतिविधिलाई तीव्रता दिने तयारी गरेको नेकपा उदयपुरले जनाएको छ।
पार्टीले बिहीबार गाईघाटस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुईमहिने राष्ट्रिय जागरण अभियानअन्तर्गत जिल्लाका आठवटै पालिकामा सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज मणि खम्बूले राष्ट्रिय जागरण अभियानमार्फत जनताका गुनासा, समस्या र माग संकलन गर्न सबै पालिकाको कार्यतालिका तयार भइसकेको जानकारी दिए।
उनका अनुसार जनवर्गीय संगठनका बाँकी काम पूरा गर्ने, पार्टी सदस्यता नवीकरण तथा वितरण गर्ने र राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै समाजवादको यात्रालाई अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
नेकपा उदयपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संविधान, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका सवालमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
गत कात्तिक १७ गते बसेको जिल्ला बैठकले अभियानको कार्ययोजना तय गरेको थियो। अभियानको उद्घाटन पार्टीका केन्द्रीय समिति सदस्य जगन्नाथ खतिवडाले गरिसकेका छन्।
अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर राष्ट्रिय तथा स्थानीय समस्या पहिचान गर्ने, जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित मुद्दा संकलन गर्ने तथा समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्नेछन्।
पार्टीले महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालाई अभियानका प्रमुख मुद्दा बनाएको छ। ती समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा ज्ञापनपत्र बुझाउने तथा श्रम र जनसेवामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
राष्ट्रिय जागरण अभियानसँगै पार्टीले राजनीतिक, वैचारिक र संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ। मंसिर २० गतेभित्र वडा तथा पालिका अधिवेशन सम्पन्न गरी संगठनलाई थप सुदृढ बनाउने नेकपा उदयपुरको लक्ष्य छ।