ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्। सभापति गगनकुमार थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन्।
निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले यसपटकको शपथग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा आयोजना गरिने जानकारी दिएका छन्। उनका अनुसार नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा आयोजना गरिएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा भएको थियो।
असोज २३ गते भएको मतदानपछि सोही राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो।
निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार सात सय मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। यस निर्वाचनमा करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको उनले बताए।
कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। महाधिवेशनबाट समावेशी तथा प्राज्ञिक प्रतिनिधित्वलाई समेट्ने नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ।
शपथग्रहण र पदबहालीपछि आजै सानेपामा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ। बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने विषयमा निर्णय गर्ने जनाइएको छ।
त्यसैगरी, बैठकमा पार्टीका आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने नेताहरूले जानकारी दिएका छन्। नयाँ कार्यसमितिको पदबहालीसँगै कांग्रेसले संगठनात्मक गतिविधि र आगामी अधिवेशनसम्बन्धी तयारीलाई अघि बढाउने अपेक्षा गरिएको छ।