खाँदबारी–किमाथांका कोशी राजमार्गअन्तर्गत भोटखोलाको छुमसुरमा पहिरो खसेपछि सडक अवरुद्ध

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी नाका जोड्ने खाँदबारी–किमाथांका कोशी राजमार्गअन्तर्गत भोटखोलाको छुमसुरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

उत्तर–दक्षिण (कोशी) सडक योजनाले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै दसैँअघि किमाथांकासम्मको आवातजावात ठप्प हुने औपचारिक रूपमा जनाएको हो ।

खाँदबारी–किमाथांका कोशी राजमार्गअन्तर्गत छुमसुर–किमाथांका सडकखण्डमा केही समयअघिसम्म परेको अविरल वर्षाको कारण पहिरो र सडकमा ठुलो चट्टान ढुंगा खसेको र उक्त ढुंगासहितको पहिरो दसैँअघि पन्छाउन नसकिने उत्तर–दक्षिण (कोशी) सडक योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

‘लगातारको वर्षात्ले छुमसुरमा सडकमा विशाल पहिलोसहितको चट्टान खसेको छ । चट्टानसहितको पहिरो डोजर र एक्स्काभेटर प्रयोग गरेर हटाउने प्रयास गर्याैँ, त्यो सम्भव भएन। विस्फाेटक पदार्थ प्रयोग गरेर मात्रै चट्टान हटाउन सक्ने अवस्था छ, त्यसका लागि सडक विभाग हुँदै नेपाली सेनासँग समन्वय भइरहेको छ,’ प्रमुख गुरुङले भने। 
उक्त पहिरो सामान्य उपकरणले हटाउन सम्भव नै नभएकाले सेना प्रयोग गरी विस्फाेटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएको प्रमुख गुरुङको भनाइ छ । 

पहिरोको कारण दसैँअघि किमाथांकासम्म सिधा सडक यातायात अवरुद्ध भएको छ । सडकमा देखिएको समस्याका कारण यातायात व्यवसायी, सर्वसाधारण तथा अन्य सरोकारवालाले असुविधा भोग्नुपरेकोप्रति कार्यालय क्षमाप्रार्थी रहेको जनाएको छ ।

दसैँलगत्तै छुमसुर सडकखण्ड सफा गरी नियमित रूपमा किमाथांकासम्म यातायात सुविधा हुने उत्तर–दक्षिण (कोशी) सडक योजनाको कार्यालयले जनाएको छ । 

खाँदबारी–किमाथांका सिधा सडक यातायात जोडिएपछि किमाथांकावासीहरू उत्साही भएका थिए । सडक सञ्जाल जोडिएपछि आवतजावतका साथै दैनिक उपभोग्य वस्तुहरूको समेत सहज ढुवानी हुन थालेको थियो । कोशी–ल्हासा राजमार्ग त्रिदेशीय भारत–नेपाल–चीन जोड्ने सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुने राजमार्ग हो । 

सुझावित समाचार