काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सामाजिक संजालमार्फत आफूहरूको चरित्रहत्या गर्ने काम भएको बताएका छन्। मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै ओलीले जनताको नजरमा एमालेलाई गिराउने काम भइरहेको बताए।
२०७९ सालको निर्वाचनमा एमालेविरुद्ध सबै शक्ति लाग्दा पनि एमाले सबैभन्दा पपुलर पार्टी बनेको उल्लेख गर्दै उनले भने, ‘सबै शक्ति एक भएर लडे, र पनि हामी सबैभन्दा पपुलर पार्टी भयौँ।’
त्यसपछि पनि एमालेविरुद्ध सामाजिक संजालमार्फत अभियान नै तीव्र पारिएको जिकिर गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो चरित्रहत्या गर्ने, हामीलाई जनताको नजरमा गिराउने, अलोकप्रिय बनाउने यी सब काम भए।’
अझै पनि घेराबन्दी नसकिएको बताउँदै उनले एकजुट हुनुपर्ने समयमा केही नेता गलत क्रियाकलापमा संलग्न भएको आरोप लगाए। ‘हाम्रो अगाडि निर्वाचन आउँदै छ र यस निर्वाचनमा पनि हामीविरुद्धको घेराबन्दी सकिएको छैन। यो चालू छ अहिले पनि।’