कर्णालीको वित्तीय प्रगति बढाउन र बेरुजु घटाउन मुख्यमन्त्री शाहीको निर्देशन

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको वित्तीय प्रगति बढाउन, बेरुजु घटाउन र सुशासन कायम गर्न मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कार्यालयमा देखिएको बेरुजु घटाउन र थप बेरुजु हुन नदिन विशेष ध्यान दिन निर्देशन दिएका हुन्।

प्रदेशलाई सुशासनको मार्गमा अघि बढाउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले नागरिकलाई प्रभावकारी र छरितो सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड दिए। सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय तथा सहकार्यलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

गोष्ठीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायले आर्थिक वर्ष ०८२/८३ मा सम्पादन गरेका कार्य, बजेट खर्च, राजस्व संकलन, बेरुजुको अवस्था तथा नीतिगत उपलब्धिबारे छलफल गरिएको थियो।

प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा दुई हजार ९७६ कर्मचारीको दरबन्दी रहेकामा दुई हजार २५९ जना कार्यरत छन् भने ७१७ पद रिक्त छन्।

त्यस्तै, कर्णाली प्रदेशका ७९ स्थानीय तहमा पाँच हजार ६६० कर्मचारीको दरबन्दी रहेकामा चार हजार २९७ जना कार्यरत छन् भने एक हजार ३६३ पद रिक्त रहेको विवरण प्रस्तुत गरिएको थियो।
 

सुझावित समाचार