बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आहारा बढाउन घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । निकुञ्जभित्र रहेका चित्तल, जरायो, बाह्रसिंगा, रतुवा, लगुना, नीलगाईलगायतका वन्यजन्तुलाई आवश्यक पर्ने आराहा बढाउन घाँसेमैदान व्यवस्थापनको काम भइरहेको हो ।
निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुलाई सहज रूपमा आहारा उपलब्ध गराउन निकुञ्जले प्रत्येक वर्ष घाँसेमैदान व्यवस्थापन गर्दै आएको छ । घाँसेमैदानको व्यवस्थापन गर्दा चरिचरण क्षेत्र विस्तार हुने भएकाले वन्यजन्तु निकुञ्जभित्र रमाउँछ ।
वन्यजन्तुले कलिलो घाँस मन पराउने भएकाले निकुञ्जभित्र रहेका ठुला घाँसहरू काटेर व्यवस्थापन गर्ने गरिन्छ । घाँसेमैदान व्यवस्थापन, बासस्थान व्यवस्थापनको एउटा महत्त्वपूर्ण पाटो मानिन्छ । निकुञ्जभित्र करिब १२ सय हेक्टर क्षेत्रफलमा घाँसेमैदानहरू हाल रहेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले घाँसेमैदानलाई व्यवस्थापन गर्दा नयाँ र ताजा पालुवा पलाउने हुँदा वन्यजन्तुहरू निकुञ्जको कोर क्षेत्रमा चरिचरन गर्ने र बस्ने भएको हुँदा निकुञ्जबाहिर नजाने भएकाले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पनि यो महत्त्वपूर्ण मानिने बताए ।
उनले भने, ‘निकुञ्जभित्र मोजाइक-बेस्ड प्राक्टिसबाट
घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । यो प्राक्टिसअन्तर्गत घाँसेमैदान व्यवस्थापन गर्दा म्यानुअल्ली मान्छे लगाएर या त ट्र्याक्टरले घाँस काट्ने र काटिसकेपछि त्यो घाँसहरूलाई चाहिँ कन्ट्रोल बर्निङ गरिन्छ । जसले घाँसेमैदानमा नयाँ-नयाँ मुनाहरू पलाउँछन ।’
मोजाइक-बेस्ड विधिबाट घाँसेमैदान व्यवस्थापनको एउटा वैज्ञानिक र आधुनिक विधि हो । जसमा सम्पूर्ण घाँसेमैदानलाई एकैपटक काट्ने वा जलाउने गर्नुको सट्टा घाँसेमैदानलाई साना-साना खण्डहरूमा विभाजन गरेर चक्रीय वा पालैपालो व्यवस्थापन गरिन्छ ।