बाढीपहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनर्स्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिएका हुन्।

छलफलमा उनले प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिक, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय तथा अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले सञ्चार सेवा पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत् संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिएका थिए। उनले तत्काल विद्युत् आपूर्ति पुर्याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए।

छलफलका क्रममा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढी तथा पहिरोका कारण टेलिकमका विभिन्न साइटमा पुगेको क्षति र सेवा पुनर्स्थापनाका लागि भइरहेको कामबारे जानकारी गराए। सिलवालका अनुसार अधिकांश प्रभावित टावरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो।

सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली तथा आवश्यक उपकरण लैजान कठिनाइ भएको छ। विद्युत् आपूर्ति तत्काल पुनर्स्थापना गर्न सम्भव नभएका स्थानमा हेलिकोप्टरमार्फत जेनेरेटर तथा आवश्यक उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको प्रमुख सञ्चालन अधिकृत सिलवालले जानकारी गराए। केही स्थानमा सेवा सञ्चालनका लागि आवश्यक सामग्रीसँगै प्राविधिक जनशक्तिसमेत हेलिकोप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए।

नेपाल टेलिकमले अवरुद्ध सेवा पुनः सञ्चालनका लागि आवश्यक जनशक्ति तत्काल परिचालन गरेको र प्रभावित साइटलाई प्राथमिकताका आधारमा पुनः सञ्चालन गरिरहेको जनाएको छ। सडकमार्गबाट पुग्न नसकिने तथा विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउने काम भइरहेको पनि टेलिकमले जनाएको छ।

सुझावित समाचार