लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन, विभिन्न प्रकारका २३ सयभन्दा बढी एम्पुल र १८ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित पाँचजनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार असोज ९ गते विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय थानकोट र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २८ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा, मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ३३ वर्षीय ललितबहादुर स्याङतान र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–११ का ३२ वर्षीय रत्न तामाङ छन्।
प्रहरीले उनीहरूको साथबाट ३।९० ग्राम खैरो हेरोइन, डाइजेपामका ७८२ एम्पुल, फेनारागनका ७८२ एम्पुल र बुप्रेनोर्फिनका ७८२ एम्पुल बरामद गरेको छ। त्यस्तै, १८ हजार ३०० क्याप्सुल ट्रामाडोल पनि बरामद गरिएको ब्युरोले जनाएको छ।
प्रहरीले उनीहरूबाट ५ लाख ६० हजार ४०० रुपैयाँ नगद, एउटा मोटरसाइकल र ६ थान मोबाइलसमेत बरामद गरेको छ।
पक्राउ परेका पाँचैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।