अविरल वर्षासँगै सम्भावित विपतलाई ध्यानमा राखेर सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाएका हुन्।
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसँग जोड्ने एक मात्र विकल्पका रूपमा रहेको भीमदत्त राजमार्ग पनि जोखिमका कारण बन्द गरिएको छ। यातायात बन्द रहेको जानकारी पाएपछि पहाडी जिल्ला जाने यातायातका साधनलाई कैलालीको गोदावरीबाटै फर्काउने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर पहाडबाट तराईतर्फ आउन खोज्ने सवारीसाधनलाई सम्बन्धित जिल्लामै रोक्ने गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी वरिष्ठ ट्राफिक प्रहरी हवल्दार धर्मानन्द भट्टले बताए। उनका अनुसार तराईका जिल्लाबाट पहाडतर्फ जान खोज्ने सवारीसाधनलाई समेत गोदावरीबाटै फर्काउने गरिएको छ।
सुदूरपश्चिममा केही दिनदेखि नै मौसम बदलीसँगै वर्षा भइरहेको छ। बाढीपहिरोका कारण हालसम्म कुनै पनि राजमार्ग अवरुद्ध नभएको ट्राफिक प्रहरीले जनाएको छ। तर, कैलाली र कञ्चनपुरमा यातायात सञ्चालन भइरहेको छैन। कैलालीका यातायात व्यवसायीले काठमाडौंलगायत लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएका छन्। पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।
कैलालीको दक्षिणी क्षेत्रमा अत्यधिक डुबान भएको छ। अहिले त्यस्तो डुबान नभए पनि चुरे भएर बग्ने नदीमा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमयुक्त तटीय क्षेत्रमा सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सम्भावित विपतका वेला उद्धार तथा राहतमा परिचालन गर्न नेपाली सेनाले हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको छ।