हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ सिधा उडान गर्दै

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

हिमालय एयरलाइन्सले काठमाडौंदेखि चीनको ऐतिहासिक सहर हाङझाउमा सिधा उडान सुरु गर्ने भएको छ । हिमालयले अर्को सातादेखि काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान गर्ने भएको हो । हिमालयले चीनका मुख्य पर्यटकीय १० सहरमा सिधा उडान गर्ने लक्ष्यसहित हवाई सम्पर्क बढाइरहेको छ । यसै क्रममा यही ३० सेप्टेम्बरदेखि नयाँ रुटका रूपमा हाङझाउमा उडान सुरु गर्न लागेको हो ।

हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थल (एचजिएच)मा सातामा दुईवटा सिधा उडान गर्नेछ । कम्पनीका अनुसार काठमाडौंबाट हाङझाउका लागि उडान प्रत्येक आइतबार र बुधबार प्रस्थान गर्नेछ भने हाङझाउबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुनेछ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणले एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हुने कम्पनीको दाबी छ । काठमाडौं–हाङझाउ–काठमाडौं उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हिमालयको मुख्य उद्देश्य भएको बताए । हिमालय एयरलाइन्सले सधैँ चीनमा नयाँ–नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्ने क्रममा काठमाडौं–हाङझाउ–काठमाडौं रुट सुरु गरिने बताए । हिमालय एयरलाइन्ससँग एक सय ८० र एक सय ४४ सिट क्षमताका चारवटा विमान रहेका छन् । 

काठमाडौं–सांघाई सिधा उडान पुनः सुरु हुँदै
हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई सिधा उडान पुनः सुरु गर्ने भएको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी सोमबारदेखि नियमित सिधा उडान पुनः सुरु गर्ने घोषणा गरेको हो ।

काठमाडौं–सांघाई–काठमाडौं उडानले यात्रुलाई नेपालको राजधानी काठमाडौं र चीनको सबैभन्दा ठुलो सहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबिच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्नेछ । नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने कम्पनीले जनाएको छ । 

हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुईवटा उडान गर्ने जनाएको छ । कम्पनीका अनुसार काठमाडौं–सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई–काठमाडौं सिधा उडानले दुई राष्ट्रका नागरिक–नागरिकबिचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने बताए ।

सुझावित समाचार