जलवायु संकटले नेपालमा निम्त्याएको विपत्तिबारे विश्व समुदायलाई प्रधानमन्त्रीको गम्भीर चेतावनी

‘हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्’

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले हिमालयमा बढ्दो जलवायु संकटले नेपालमा निम्त्याएको विपत्तिबारे विश्व समुदायलाई गम्भीर चेतावनी दिएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको मञ्चमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफू विकास, लोकतन्त्र, शान्ति र नेपालको आशाबारे बोल्न चाहेको भए पनि अहिले मृत्यु र अकल्पनीय विनाशबारे बोल्नुपरेको बताए।

उनले बाढी र पहिरोमा बेपत्ता भएका आफन्तलाई पर्खिरहेका परिवार तथा लेदो, ढुंगामाटो र पानीमा आफ्ना मानिस खोजिरहेका समुदायको पीडा विश्वसामु प्रस्तुत गरे। बाढीले पुल, सडक, विद्यालय, घर तथा मानिसको जीविकोपार्जनका माध्यमसमेत क्षणभरमै बगाएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले करिब चार साताअघि नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई धेरैले ‘हिमालयन सुनामी’ भनेको उल्लेख गर्दै भोटेकोशी–त्रिशूली विपत् नेपालका लागि मात्रै नभई विश्वकै लागि चेतावनी भएको बताए।

‘के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ ?’ उनले विश्व समुदायलाई प्रश्न गरे। उनले करिब तीन वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिवले सगरमाथा क्षेत्रमा पुगेर जलवायु विपत्तिको जोखिमबारे विश्वलाई सचेत गराएको स्मरण गरे। वैज्ञानिकहरूले पनि प्रमाणसहित जलवायु संकटको जोखिमबारे निरन्तर चेतावनी दिँदै आएको, तर राजनीतिक नेतृत्वले त्यसलाई जोखिममा रहेका मानिसको आवश्यकताअनुसार तीव्र रूपमा कार्यान्वयनमा बदल्न नसकेको उनले बताए।

प्रधानमन्त्री शाहका अनुसार बढ्दो तापक्रमले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। हिउँ जमेको माटो पग्लिँदा हिमाली भिरालो भूभागमा चिरा पर्ने, हिमचट्टानसहितका पहिरो र बाढीलगायत जोखिम बढ्ने अवस्था सिर्जना भएको उनले बताए।

भोटेकोशी–त्रिशूली विपतले नेपाल–चीन सीमाका दुवैतर्फ ठुलो क्षति पुर्याएको र बाढी भारततर्फ समेत बगेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने बताए।

‘हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्,’ प्रधानमन्त्री शाहले भने, ‘यसले जलवायु संकट कुनै एउटा देशको मात्र समस्या नभएको स्पष्ट पार्छ।’

सुझावित समाचार